समाज

चितुवाको छालासहित तीनजना पक्राउ

बरामद चितुवाको छालासहित अभियुक्तलाई सार्वजनिक गर्दै सशस्त्र प्रहरी बल। तस्बिर: रमेश/नागरिक।

दोलखा – सशस्त्र प्रहरीले चितुवाको छालासहित तीनजनालाई पक्राउ गरेको छ। गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने बिगु गाउँपालिका–४ लादुकमा सशस्त्रको १८ नम्बर गुल्म चरिकोटका इन्स्पेक्टर सुमनकुमार विक नेतृत्वको टोलीले सोमबार बिहान चितुवाको छालासहित उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भीमेश्वर नगरपालिकाका मिलन गोले, जगदीश खड्का र बिगु गाउँपालिकाका भीमबहादुर तामाङ छन्। उनीहरूलाई सोमबार दिउँसो सदरमुकाम चरिकोटस्थित गुल्म हेडक्वार्टरमा सार्वजनिक गरिएको हो। सोमबारै उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागअन्तर्गत चरिकोट कार्यालयमा मुद्दा हेर्ने अधिकारीसमक्ष पेस गरिएको छ।

विभागको चरिकोट कार्यालयका अधिकृत अमृत अधिकारीले अभियुक्तलाई राष्ट्रिय प्रकृति तथा वन्यजन्तु ऐनबमोजिम मुद्दा चलाइने जानकारी दिए। दोलखामा सशस्त्र प्रहरी बलको गुल्म स्थापना भएयता चितुवाको छाला बरामद भएको यो दोस्रो घटना हो। यसअघि सशस्त्र टोलीले दुईपटक सालकको खपटासमेत बरामद गरिसकेको छ।

प्रकाशित: १४ जेष्ठ २०७६ ०२:४९ मंगलबार

सशस्त्र_प्रहरी पक्राउ चितुवाको_छाला