समाज

स्थानीय पाठ्यक्रमले कला संस्कृतिको जगेर्ना हुने

काठमाडौं -  गोकर्णेश्वर नगरपालिकाले आधारभूत तहको कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ। नगरपालिकाले एक कार्यक्रमबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको उपस्थितिमा पाठ्यक्रम चालू शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याउने औपचारिकता प्रदान गरेको छ।

कार्यक्रममा मन्त्री गिरिराजमणि पोखरेलले स्थानीय तहले स्थानीय पाठ्यपुस्तक लागू गर्दा समग्रमा संघीयता नै बलियो हुने बताए। मन्त्री पोखेरेलले स्थानीय पहिचानसँग राष्ट्रिय पहिचानलाई जोड्ने काम स्थानीय पाठ्क्रमले नै गर्ने बताए।

मन्त्री पोखरेलले शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त राख्न सकेमा शैक्षिक स्तरमा सुधार आउने धारणा राखे। सामुदायिक विद्यालयको स्तर उकास्न आफू प्रतिबद्ध रहेको भन्दै उनले शैक्षिक क्षेत्रमा निजी क्षेत्रको योगदान पनि महत्वपूर्ण रहेकोमा निजी क्षेत्रको प्रसंसा गरे।

राष्ट्रिय शिक्षा नीति तर्जुमा गर्न आफूले धेरै मेहनत गरेको भन्दै उनले शिक्षा नीति पास हुने विश्वास व्यक्त गरे। सांसद कृष्ण राईले शैक्षिक क्षेत्रको विकासपछि मात्र समृद्ध मुलुकको परिकल्पना गर्न सकिने र त्यसको थालनी स्थानीय स्तरबाटै हुनुपर्ने जनाए।

गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले पहिलो पटक आफ्नो नेतृत्वको नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरी उदाहरणीय काम गरेकोमा खुसी व्यक्त गरे। स्थानीय धर्म, संस्कृति तथा परम्परालाई जीवन्त राख्न स्थानीय पाठ्क्रम लागू गर्नुको विकल्प नरहेको चालिसले बताए।

शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक बावुराम पौडेल, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, प्रमुख कार्यकारी अग्निप्रसाद अधिकारी, शिक्षा शाखा प्रमुख विजयप्रसाद आचार्य, नेपाली कांग्रेस काठमाडौंका सभापति सबुजकृष्ण बानियाँ, प्याब्सन काठमाडौंका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, समाजसेवी दीपकसिंह भण्डारी, शिक्षाविद् रामनारायण शाहलगायतले गोकर्णेश्वर नगरपालिकाले जस्तै अन्य स्थानीय निकायले पनि आआफ्ना पाठ्क्रम लागू गरी स्थानीय कला संस्कृतिलाई संरक्षण गर्न आग्रह गरे।

प्रकाशित: १४ जेष्ठ २०७६ ०२:४६ मंगलबार

आधारभूत_तह पाठ्यक्रम