समाज

एसियामा सबैभन्दा धेरै व्यक्ति बेपत्ता

काठमाडौं  – बलपूर्वक व्यक्ति बेपत्ता पार्ने काममा एसिया महादेश अग्र स्थानमा देखिएको छ। एसियाकै तथ्यांकलाई लिएर बेपत्ता पारिएका व्यक्तिका विषयमा छलफल गर्न काठमाडौंमा सोमबारदेखि कार्यशाला हुँदैछ। नेपालमा सशस्त्र द्वन्द्वको समयमा व्यक्ति बेपत्ता पारिएको थियो।

बलपूर्वक बेपत्ता पारिएका विषयमा विभिन्न देशको अवस्थाबारे अनुभव आदानप्रदान गर्दै असल अभ्यास र सिफारिस गरिने बताइएको छ। इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले नेपाललाई पक्षराष्ट्र हुनुपर्ने सुझावसहितको सिफारिस गरिने बताए। भारतको जम्मु कश्मिरमा ७ हजार जना बलर्पूक वेपत्ता पारिएको छ। त्यसैगरी श्रीलंकामा २४ हजार, फिलिपिन्समा ६ सय २५ जना बेपत्ता भएको गौतमले बताए।

बेपत्ता पारिएका व्यक्तिको खोजीका लागि मार्गदर्शक सिद्धान्तबारे छलफल र एसियाली राष्ट्रका सन्दर्भमा सरोकारवालाको सुझाव लिने बताए। सोमबारदेखि दुईदिनसम्म हुने कार्यक्रममा एसियाका १२ देशका २० प्रतिनिधि संयुक्त राष्ट्रसंघको बलपूर्वक बेपत्तासम्बन्धी समितिका उपाध्यक्ष, द्वन्द्वपीडितलगायतको सहभागिता रहने उल्लेख छ। आइतबार काठमाडौंमा इन्सेक र एड्भोकेसी फोरमले पत्रकार भेटघाट गरी बलपूर्वक बेपत्ता पारिएकाका विषयमा नेपाल पक्ष राष्ट्र नभएकाले अन्तर्राष्ट्रियकरण गर्न नसकिएको उल्लेख गरे।

प्रकाशित: १३ जेष्ठ २०७६ ०६:०३ सोमबार

एसिया_महादेश व्यक्ति बेपत्ता