समाज

डेंगुबाट बच्न धादिङमा सतर्कता अभियान

धादिङ - डेंगु रोगको संक्रमण फैलिन नदिन धादिङमा सतर्कता अभियान सञ्चालन गरिएको छ। केही वर्षदेखि महामारीका रूपमा देखापरेको डेंगु रोग नियन्त्रणका लागि यस वर्ष बेलैमा अभियान सञ्चालन गरिएको हो। अभियानअन्तर्गत नीलकण्ठ नगरपालिकाको समन्वयमा स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्य संस्था, टोलसुधार समिति, सञ्चारकर्मीलगायत सरोकारवालाबीच छलफल गरेको छ।

लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुको अहिलेसम्म उपचारको पहिचान भएको छैन। तापनि न्यूनीकरण गर्न र रोग फैलिन नदिन डेंगु रोगसम्बन्धी स्थानीय तहमा अभिमुखीकरण कार्यक्रम गरिएको महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तम प्याकुरेलले बताए। ‘लामखुट्टेको टोकाइबाट सर्ने यस रोगबाट बच्न बेलैमा सजकता अपनाउन जरुरी छ,’ उनले भने, ‘डेंगुको विषाणुद्वारा संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्छ।’

डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। यो एक प्रकारको ज्वरो तथा डेंगु एजेप्टाई र एडिस एल्बोमेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो। सहरी क्षेत्रमा बढी असर गर्ने भएकाले यसलाई सहरको रोग पनि भनिन्छ। खासमा एडिस एजेप्टाई नामक लामखुट्टेले डेंगु ज्वरो संक्रमित मानिसलाई टोकेपछि उक्त लामखुट्टे संक्रमित हुन्छ, त्यो लामखुट्टेले सद्धे मानिसलाई टोकेपछि डेंगु सर्छ।

डेंगु लागेपछि ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्ने, गिजाबाट रगत आउने, उल्टी हुने, छालामा रगतको धब्बा देखिनेलगायत लक्षण देखिन्छन्। रोगबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिने, लामखुट्टेका लार्भा बढ्न नदिने, वरिपरि पानी जम्न नदिने, पानी ढाकेर राख्नेलगायत उपाय अपनाउन स्वास्थ्यकर्मीले सल्लाह दिएका छन्।

जिल्लामा आव २०७३/७४ मा ७६ जना, २०७४/७५ मा ६ जना र यो वर्षको सुरुवातमै पाँचजनामा डेंगुको संक्रमण भेटिएको स्वास्थ्य कार्यालय धादिङका निमिक्त प्रमुख विष्णु रिजालले बताए। ‘अघिल्ला वर्षमा डेंगुले महामारीको रूप लिएको थियो,’ उनले भने, ‘धादिङबेंसी बजार क्षेत्रमा डेंगुको संक्रमण भेटिन थालेपछि यसपालि वर्षको सुरुमै सतर्कता अभियान थालेका हौं।’

खासगरी वर्षाको पानी जम्ने टिनका डब्बा, थोत्रा टायर, मट्टीतेलका खाली ड्रम, गमला, फूलदानी, पानी ट्यांकी आदिमा यसले फुल पार्छ। डेंगु सार्ने लामखुट्टेले दिउँसो टोक्ने र सफा पानीमा बस्ने भएकाले सकेसम्म पानी जम्मा गरेर नराख्न, राख्नै परे साताको दुईपटक परिवर्तन गर्न, शरीर ढाक्ने कपडा लगाउन तथा झुल लगाएर सुत्न, लगातार तीन÷चार दिन ज्वरो आए तुरुन्त परीक्षण गर्न स्वास्थ्यकर्मीले सल्लाह दिएका छन्।

नेपालमा आधिकारिक रूपमा सन् २००६ को नोभेम्बरमा डेंगु देखिएको थियो। उक्त डेंगु क्लासिक डेंगु तथा डेंगु हेमरेजिक साक सिन्ड्रोम हो भने समयमै यसको उपचार नभए शरीरका विभिन्न अंगबाट रक्तस्राव भई मानिसको तत्काल मृत्यु हुने सम्भावना उच्च रहने प्रमुख रिजालको भनाइ छ।

प्रकाशित: १३ जेष्ठ २०७६ ०५:३० सोमबार

डेंगु सतर्कता अभियान ज्वरो