समाज

अरनिको राजमार्गको साधी खोलामा बेलिब्रिज

सिन्धुपाल्चोक– अरनिको राजमार्गको बाह्रविसेस्थित साधी खोलामा मोटरेबल पुल जडान गरिएको छ। चार वर्षदेखि बन्द रहेको उत्तरी व्यापारिक तातोपानी नाका सञ्चालनमा आउने भएपछि सवारी आवागमन सहज बनाउन साधी खोलामा बेलिब्रिज हालिएको हो। 

झण्डै १० महिनाअघि साधी खोलामा बाढी आउँदा बाह्रविसे–खुर्सानीबारी जोड्ने पुल बगाएको थियो। नाका सञ्चालनमा आउने भएपछि तत्काललाई बेलिब्रिज हालिएको सडक डिभिजन कार्यालय, दोलखाका प्रमुख इन्जिनियर धर्मेन्द्र झाले बताए। ‘पक्की पुल बनाउन समय लाग्ने भएकाले तत्कालीन सुविधाका लागि बेलिब्रिज रोजिएको हो,’ उनले नागरिकसँग भने। 

गत वर्षको भदौ २ गते कोसिनडाँडामा पहिरो गएर निम्तिएको बाढीले २०२३ मा चीन सरकारले १ सय १४ किमी लामो राजमार्ग खोल्दा बनेको ४० फिट लामो र ६ फिट चौडा भएको साधी खोला पुल बगाएको थियो। पुलको ढलान (स्ल्याब) बगे पनि स्पान (खम्बा) भने क्षति भएको थिएन। खोलाका तिनै दुई स्पानमा बेलिब्रिज जडान गरिएको हो। 

आउँदो बुधबारदेखि नाका सञ्चालनमा आउँदै छ। गएको असोजमा नेपालले आफ्नो तर्फको क्षतिग्रस्त सडक, पुल लगायत भौतिक पूर्वाधार बनाए नाका सञ्चालनमा ल्याउन चीन सकरात्मक बनेको थियो। नाकादेखि राजमार्गको बसेरीसम्मको सडक मर्मतसम्भार आफैँले गर्न चीनले प्रतिबद्धता जनाएपछि त्यहाँदेखि बन्देउ खण्ड स्त्तरोन्नति डिभिजन कार्यालयमार्फत अघि बढाइएको थियो। 

साधी खोलामा पुल राख्ने काम सकेको डिभिजन कार्यालयले सडक मर्मत, सम्भारको काम अन्तिम चरणमा पु¥याएको छ। आफूले प्रतिवद्धता जनाएको क्षेत्रमा चीनले काम सकिसकेको छ। डिभिजन कार्यालयका अनुसार पुलबाहेक बन्देउदेखि माथितिर ३५ किमी क्षेत्रमा ३६ करोड रुपैयाँको ठेक्कामा पाँचवटा प्याकेजमा राजमार्ग सुधार र मर्मतको काम भइरहेको छ।

१५ दिनभित्रै जडान गरिएको बेलिब्रिज १४ मिटर लामो र साढे चार मिटर चौडा रहेको प्रमुख इन्जिनियर झाले जानकारी दिए। उनका अनुसार पुलको लागत १३ लाख रुपैयाँ रहेको छ। ‘दीर्घकाललाई हुने गरी अर्को वर्ष पक्की पुलको योजना माग गर्छौँ,’ उनले भने। पुल जडानपछि यसैबाट सवारी गुड्न थालेका छन्। पुल नहुँदा खोलाबाटै सवारी आवागमन हुँदै आएको थियो। 

प्रकाशित: १२ जेष्ठ २०७६ १३:०८ आइतबार

अरनिको_राजमार्ग साधी_खोला बेलिब्रिज बाह्रविसे