समाज

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

रुकुम– रुकुम (पूर्व)मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका ७ को देउखालाबाट सिस्ने गाउँपालिका ५ रुकुमकोटतर्फ आउँदै गरेको रा १ त २५९२ नम्बरको ट्याक्टर सानीभेरी नदीमा खसेको प्रहरीले जानकारी दिएको छ। 

सडकबाट करिब एक सय मिटर तल भेरीमा ट्याक्टर खस्दा सिस्ने गाउँपालिका ४ अमलाचौरका १५ वर्षिय रामचन्द्र बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिए।

दुर्घटनामा परेर पुथा उत्तरगंगा गाउँपालिका १४ का १६ वर्षीय कृष्ण रसाइली र रुकुम (पशिचम) त्रिवेणी गाउँपालिका ५ का १७ वर्षीय लक्ष्मण वली गम्भीर घाइते भएको उनले बताए। घाइतेहरुको स्वास्थ्य चौकी रुकुमकोटमा उपचार हुन नसकेपछि थप उपचारको लागि रुकुम (पश्चिम)को जिल्ला अस्पताल सल्लेमा रिफर गरिएको छ। ट्याक्टर चालक दाङका २२ वर्षिय अनन्त रावतलाई प्रहरी नियन्त्रणमा लिएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुनारले जानकारी दिए।

प्रकाशित: ९ जेष्ठ २०७६ १२:५४ बिहीबार

ट्याक्टर_दुर्घटना मृत्यु रुकुम_(पूर्व) घाइते