समाज

व्यवसायलाई निरुत्साहित हुने गतिविधि सरकारबाटै भयोः पाण्डे

काठमाडौं– पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले व्यवसायलाई प्रवर्दन गरेर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले व्यवसायलाई निरुत्साहित हुने खालका गतिविधि सरकारी तहबाटै भएकाले नेपालको समृद्धि हुन नसकेको बताएका हुन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता समेत रहेका पाण्डेले मुलुकलाई समृद्ध बनाउन व्यवसायलाई प्रवर्दन गरेर अघि बढ्ने खालको आर्थिक नीति तथा बजेट ल्याउन पनि सरकारलाई सुझाव दिए।

कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले भने मुलुकलाई समृद्ध बनाउन सडकको पूर्वाधार विकासमा जोड दिन सरकारलाई सुझाव दिए। उनले पूर्वाधारको विकास गरेर मुलुकमा कायम रहेको आर्थिक वृद्धिदरलाई दीगो बनाउन सकिने पनि स्पष्ट पारे।

पूर्व अर्थमन्त्री कोइरालाले सरकारले रेल सेवामा भन्दा पनि सडक यातायातको विकासमा जोड दिएर आवश्यक योजना तय गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए।

प्रकाशित: ८ जेष्ठ २०७६ ११:५४ बुधबार

सुरेन्द्र_पाण्डे आर्थिक_नीति बजेट