समाज

मानसरोवर जान आएका २० भारतीयलाई चीनले दिएन भिषा

हुम्ला– मानसरोवर कैलाश दर्शनका लागि सिमकोट पुगेका २० जना भारतीय धार्मिक पर्यटकहरु बुधबार नेपालगञ्ज फिर्ता भएका छन्। सन्नी ट्रेकमार्फत मानसरोवर कैलाश दर्शनका लागि बम्बइबाट सिमकोट पुगेका २० जना भारतीय पर्यटकलाई चीन सरकारले मानसरोवर कैलाश जाने भिषा अनुमति नदिएपछि सिमकोट पुगेका २० जना पर्कनु परेको सन्न भ्याली रिर्सोट हुम्लाका म्यानेजर निमा लामाले बताए।

फिर्ता हुने २० जनासहित ७५ जनाको समुहलाई भिषा अनुमतिका लागि चिनियाँ दुतावासमा पठाएको भएपनि दुतावासले ५५ जनालाई भिषा अनुमति दियो तर सँगै आएका २० जनालाई अनुमति नदिएपछि आज मानसरोवर कैलाश दर्शनका लागि सिमकोट पुगेका यात्री फर्केको लामाले बताए।

‘सिमकोट पुगेर पनि कैलाश मानसरोवरको दर्शन नगरी फर्कदा दुःख लागेको छ’ रेशम तलबारले भने ‘सबैले भिषा अनुमति पाउने हामी २० जनालाई मात्र नदिने के कारण हो यसबारे हामीलाई केही थाहा छैन्। यसबारे काठमाडौं गएर ट्राभल एजेन्टसँग कुरा गर्छौ। हामीलाई भिषा नदिने कुरा पहिला नै थाहा दिएको भए हामी दुःख गरेर सिमकोट पनि आउने थिएनौं। हामीले दुःखमात्र पायौं बल्लबल्ल कार्यालयको समय मिलाएर दर्शनका लागि आइयो कस्तो र्दुभाग्य दर्शनै नगरी फर्कनु पर्यो।’

बुधबारसम्म मानसरोवर कैलाश यात्राका लागि सिमकोटको बाटो भएर ३ सय ३३ जना महिला र ३ सय ५९ जना पुरुष गरी जम्मा ६ सय ९२ जना आएका छन्। यात्राको सिजनसँगै यात्रुको चाप बढेपछि सिमकोटका लागि अहिले सिम्रिकका २, सुमिटका २ र माउण्टेनको १ गरि ५ वटा हेलिकप्टरले सिमकोटमै नाइट स्टेहे गरी बिहानदेखि बेलुकासम्म उडान भरेको सिम्रिक एयरका पश्चिम नेपाल प्रमुख कमल गौतमले नागरिकन्यूजलाई बताए।

प्रकाशित: ८ जेष्ठ २०७६ १०:११ बुधबार

मानसरोवर_कैलाश_दर्शन धार्मिक_पर्यटक चीन भिषा