समाज

खोटाङमा अझै असुरक्षित गर्भपतन गराउँछन् महिला

सुरक्षित गर्भपतनका विषयमा जिल्ला अस्पतालले आयोजना गरेको कार्यक्रममा सहभागी । तस्बिर/नागरिक

खोटाङ– जिल्लामा अझै पनि सूचीकृत नभएका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट असुरक्षित गर्भपतन गराउने गरेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन्। जिल्ला अस्पताल खोटाङले मंगलबार आयोजना गरेको समुदायस्तरमा सुरक्षित गर्भपतन सेवा सम्बन्धी जनचेतनामुलक कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीले जिल्ला अस्पतालसहित स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन गराउने व्यवस्था भएपनि कतिपय महिलाले सूचीकृत नै नभएका स्वास्थ्यकर्मीबाट गर्भपतन गराउने गरेको बताएका छन्।

जनतेचनाको अभावमा अझै पनि कतिपय महिलाले सूचीकृत नै नभएका स्वास्थ्यकर्मी र क्लिनिकबाट असुरक्षित गर्भपतन गराउने गरेको पाइएको जिल्ला अस्पतालकी स्टाफ नर्स सिर्जना पौडेलले बताइन्। आर्थिक वर्ष ०७४/०७५मा जिल्ला अस्पतालबाट २ सय १६ जना, प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीबाट १२ जना, दुर्छिम स्वास्थ्यचौकीबाट ६८ जना, स्वास्थ्यचौकी साउनेचौरबाट ३१ जना, बाक्सिला स्वास्थ्यचौकीबाट १५ जना र स्वास्थ्यचौकी बड्कादियालेबाट ९ जनाले सुरक्षित गर्भपतन गराएको जिल्ला अस्पतालले जनाएको छ।

प्राथमिक स्वास्थ्यकेन्द्र ऐसेलुखर्क, स्वास्थ्यचौकी लामीडाँडा, स्वास्थ्यचौकी निर्मलीडाँडा र स्वास्थ्यचौकी ओख्रेडाँडागाउँमा सो आर्थिक वर्ष कुनै पनि महिलाले गर्भपतन नगराएको जानकारी दिइएको छ। सूचीकृत स्वास्थ्य संस्था हुँदाहुँदै पनि कतिपय महिलाले दिक्तेल बजारलगायतका विभिन्न क्लिनिकमा सूचीकृत नभएका स्वास्थ्यकर्मीबाट गर्भपतन गराएको दाबी गरिएको छ। सूचीकृत नभएका स्वास्थ्यकर्मीबाट जथाभावी असुरक्षित गर्भपतन गराउँदा अधिक रक्तश्राव, पाठेघरमा संक्रमण फैलिएर रगत जाने, अंगभंग हुने, बाँझोपना हुने, पाठेघरमा प्वाल पर्ने, बिकलांग बच्चा जन्मिने, मृत्यु हुने, गर्भले निरन्तरता पाउनेलगायतका समस्या देखिएको स्टाफ नर्स पौडेलले बताइन्। ‘हाम्रो जिल्लामा अस्पताल, दुई वटा प्राथमिक स्वास्थ्य केन्द्र र सात स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन गराउने व्यवस्था छ,’ स्टाफ नर्स पौडेलले भनिन्, ‘तर अझै पनि सूचीकृत नभएका स्वास्थ्यकर्मीबाट गर्भपतन गराउने र समस्या भएपछि जिल्ला अस्पतालमा आउने दिदि बहिनीको संख्या धेरै पाएका छौँ।’

सुरक्षित गर्भपतन गराएर मातृ मृत्युदर न्यूनीकरणका लागि जिल्ला अस्पतालले स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेबिका र क्लिनिक सञ्चालकलगायतलाई राखेर सुरक्षित गर्भपतन सम्बन्धी कार्यक्रम गरेको हो। ७ प्रतिशत मातृ मृत्युदरको कारण असुरक्षित गर्भपतनका कारण हुने गरेको तथ्यलाई ध्यानमा राखेर सचेतनामुलक कार्यक्रम राखिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नविन देबकोटाले बताए। सुरक्षित गर्भपतनको व्यवस्था भए पनि लिंग पहिचान गरेर गर्भपतन गराउनु कानून बर्जित हुने एमडिजिपी डाक्टर नारायण बरालले बताए। ‘अहिले पनि सरकारबाट मान्यता प्राप्त नभएका स्वास्थ्य संस्था र सूचीकृत नै नभएका स्वास्थ्यकर्मीबाट गर्भपतन गराउने गरिएको पाइएको छ,’ डा. बरालले भने, ‘सूचीकृत स्वास्थ्यकर्मीबाट गर्भपतन गराउने र मातृ मृत्युदर न्यूनीकरण गर्ने लक्ष्यकासाथ कार्यक्रम राखिएको हो।’

 

प्रकाशित: ७ जेष्ठ २०७६ ०८:४४ मंगलबार

जिल्ला_अस्पताल महिला असुरक्षित गर्भपतन