समाज

पर्सा निकुञ्जभित्र जवानको शंकास्पद मृत्यु

वीरगन्ज - पर्सा राष्ट्रिय निकुञ्जभित्रको नेपाली सेनाको श्रीबारा दल गणमा कार्यरत एकजना सिपाहीको शंकास्पद मृत्यु भएको छ। कैलालीको घोडाघोडी नगरपालिका–१ का ३० वर्षीय देवीराम जैसी गौतमको शनिबार राति मृत्यु भएको हो। उनी निकुञ्जभित्रको घोडामसान पोस्टबाट गस्तीका लागि राति ९ बजे निस्किएको टोलीमा सामेल थिए।

‘९ बजेर २१ मिनेटमा मैले घरबाट फोन गर्दा उहाँले फोन उठाउनुभयो, गस्तीमा निस्किनुभएको रहेछ,’ मृतक देवीरामकी श्रीमती लक्ष्मीकुमारी सुवेदी (जैसी)ले श्रीमान्सँग भएको आफ्नो अन्तिम वार्तालाप सुनाइन्, ‘मँ गस्तीका छु, कुरा गर्न मिल्दैन तिमीहरू सुत।’ जैसीले अरूले थाहा नपाउनेगरी श्रीमतीको फोन उठाएर छोटकरीमा कुरा गरेका रहेछन्। अर्को दिन बिहान ६ बजे उनकै मोबाइलबाट अर्को मान्छेले आफू देवीरामको सहकर्मी भएको बताउँदै उनी सिकिस्त बिरामी रहेको बताएका थिए। ‘उहाँ बिरामी हुनुहुन्छ, अचेत हुनुहुन्छ, तपाईहरू छिटो आउनू भनेर बताइयो,’ लक्ष्मीले भनिन्, ‘हामी आइतबारै ७ बजे बिहान त्यहाँबाट हिँडेर यहाँ आएपछि वास्तविकता थाहा भयो।’ देवीरामसँग गस्तीमा निस्केका उनका सहकर्मीले भने एक्कासि लडेर अचेत अवस्थामा पुगेको बताएका छन्।

देवीरामसँग गस्तीमा निस्केका उनका सहकर्मीले भने एक्कासि लडेर अचेत अवस्थामा पुगेको र राति नै उपचारका लागि नारायणी अस्पताल ल्याउँदाल्याउँदै बाटैमा मृत्यु भएको बताएका छन्।

मृतक देवीरामका दाजु दुर्गादत्त जैसीले यहाँ सेनाकै व्यक्तिहरूले गरेको कुराकानी र अन्य केही कुराले आफूहरूलाई सशंकित बनाएको बताए। ‘ऊसँग डिउटीमा रहेका भनिएकाहरूको अलगअलग मत छ, एकखाले मात्र कुरा आएको छैन,’ दाजु दुर्गादत्तले भने, ‘उसले कहिल्यै पनि जनाई र सेन्डो गन्जी खोल्दैनथ्यो, अहिले हेर्दा शरीरमा ती दुवै नरहेको देखियो। जिउमा बर्दी मात्र छ। के हो, बुझ्नै सकिएको छैन।’

उनले दैनिक रूपमा घरमा फोनबाट कुरा गर्दै आएका थिए। घटनाको अघिल्लो रात पनि नियमित जस्तै कुरा गरेका थिए। १२ बजे राति गस्तीबाट फर्किनुपर्ने उनी त्यसअगाडि नै लडेका रहेछन्। मृत्युलाई घर परिवारकाले अस्वाभाविक र शंकास्पद मानेका छन्। सेनाको तर्फबाट यसमा आधिकारिक जानकारी भने केही पनि आएको छैन। अस्पतालमा भेटिएका सेनाका जमदार खमादत्त न्यौपानेले आफूहरूले केही बताउन नमिल्ने र माथिल्लो तहका अधिकारीसँग सम्पर्क गर्न सुझाव दिए।

त्यहाँ रहेका विभिन्न दर्जाका सेनामध्ये कसैले पनि केही जानकारी दिएका छैनन्। पोस्टमार्टममा संलग्न नारायणी अस्पतालका डाक्टर अजित साहले अहिले तत्कालै मृत्युको कारण ठम्याउन नसकिएको र बाहिरी घाउखत नदेखिएको परिवारका सदस्यलाई जवाफ दिए। ‘डिउटीमा खटिएको बेला राति अचानक लडेर बेहोस भएका उनलाई राति नै उपचारका लागि नारायणी अस्पताल ल्याउँदाल्याउँदै बाटैमा मृत्यु भएको हो,’ जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराज शर्माले भने, ‘पोस्टमार्टम हुँदै छ, रिपोर्ट आउने नै छ, शंका गर्नुपर्ने केही छैन।’

क्याप्सनः कैलालीबाट पतिको लास बुझ्न आइपुगेकी मृतक देवीराम जैसीकी श्रीमती लक्ष्मी सुवेदी जैसी। तस्बिर ः रितेश त्रिपाठी
फोटो एटेज भएन। फोल्डरमा छ।

प्रकाशित: ७ जेष्ठ २०७६ ०३:१९ मंगलबार

शंकास्पद_मृत्यु निकुञ्जभित्र