समाज

पाँचथर हत्या प्रकरण: दुई जनाको सनाखत, हाम फालेर ज्यान जोगाइन् एक युवतीले (अपडेट)

फाइल तस्बिर/नागरिक

काठमाडौं- पाँचथरमा २ परिवारको ९ जनालाई खुकुरी प्रहार गरी विभत्स हत्या गरिएको छ। मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको गाउँपालिका प्रमुख  अमरराज माखिम जानकारी दिए। घटना बारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक अनिल पौडेलको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।प्रहरी निरीक्षक पौडेलको टोली घटनास्थलमा भने पुगिसकेको छैन।

घटनास्थलमा रहेको दशमे चौकीको टोलीले दिएको पछिल्लो जानकारीअनुसार हत्या गरिएका मध्ये दुई जनाको सनाखत भएको छ। हत्यामा मनकुमारी थ्यात (छोरी) र बाबु बम कुमारको पहिचान खुलेको दशमे चौकी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक कृष्ण कुमार खवासले जानकारी दिए। हत्या गरिएका मध्ये ४ जना शेर्मा थरका, १ जना लीम्बु र १  जना थ्यात थरका रहेको उनले बताए।

खवासकाअनुसार विभत्स तरिकाले हत्या गरिएकाे छ। 'खबर पाएलगत्तै हामी यहाँ आइपुगेका हौं। हामी आउँदा ढोका भित्रैबाट लक गरिएको थियो। घरबाहिर खुनैखुन थियो। खुकुरीले विभत्स हत्या गरिएको देखिएको छ।' उनले भने, 'घटनाको प्रकृति हेर्दा लुटपाट जस्तो देखिदैन। गरगहना पनि लुटिएको छैन। कुनै रिसीइबी हुनसक्छ।'

खुकुरी प्रहार गर्न लाग्दा हामफालेर भाग्न खोज्दा १ जना घाइते भएका छन्। अन्दाजी १४/१५ वर्षीया सीता खजुमले हाम फालेर ज्यान जोगाएको खवासले बताए।

प्रकाशित: ७ जेष्ठ २०७६ ०३:०० मंगलबार

विभत्स_हत्या पाँचथर