समाज

बालविवाह रोक्ने रणनीति बनाउँदै स्थानीय तह

बैतडी- बालविवाह रोकथामको लागि बैतडीका स्थानीय तह रणनीतिक योजना बनाउन थालेका छन्। जिल्लाका ६ वटा स्थानीय तह रणनीतिक योजना बनाउन जुटेका हुन्। शिवनाथर पञ्चेश्वर गाउँपालिकाले यही वर्ष र मेलौली नगरपालिका, डिलासैनी, दोगडाकेदार र सुर्नया गाउँपालिकाले आगामी आर्थिक वर्षमा बालविवाह न्यूनीकरणको लागि स्थानीय स्तरमा रणनीतिक योजना बनाउने प्रतिवद्धता गरेका हुन्।

नेपाल रेडक्रस सोसाइटीले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले स्थानीय तहका जनप्रतिनिधि लगायत सरोकारवाला निकायहरुको लागि पैरवी कार्यक्रम गरेपछि बालविवाह रोक्न स्थानीय तह जुर्मराएका हुन्। ६ वटै स्थानीय तहका पैरवी कार्यक्रममार्फत्  बालविवाह न्यूनीकरणको लागि बनेको राष्ट्रिय रणनीतिक योजना  र जिल्ला स्तरमा बनेको रणनीतिक योजनाबारे जानकारी गराएपछि स्थानीय तह बालविवाह न्यूनीकरण गर्न रणनीति बनाउने तयारी गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए।

जिल्लाका केही स्थानीय तहका किशोरी सामूहिक रुपमा बालविवाहमा घटाउन जुटन थालेका छन्। उनीहरुले बालविवाह जस्तो हानीकरक चलन हटाउन अभियान  नै चलाउन थालेको रेडक्रसका बालविवाह रोकथाम कार्यक्रम संयोजक कमलापति भट्टले बताए।

गाउँपालिकाले बनाउने बालविवाह न्यूनीकरण योजनाले बालविवाह न्यूनीकरण गर्न सजिलो हुने सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले बताए। ‘गाउँपालिकामा बालविवाहमा कमी आउन सकेको छैन,’ अध्यक्ष बिष्टले भने, टोलटोलमा जनचेतनाका क्रियाकलाप गर्दै बालविवाहबाट पर्ने असरबारे र कानुनी प्रावधानबारे अभिमुखीकरण गर्न आवश्यक भएको छ।’ कार्ययोजना बनाएर अघि बढ्दा सहज हुने उनको भनाइ छ।

अभिमुखीकरण, अन्तरपुस्ता संवादलगायतका क्रियाकलाप गरेर बालविवाह मा कमी ल्याउन मद्धत पुग्ने देखिएको छ। यसका लागि स्थानीय तहले अग्रसरता देखाउनुपर्ने अवस्था आएको छ। धार्मिक अगुवा, धामी, झाक्री, पुजारीले पनि बालविवाह न्यूनीकरण गर्न सहयोग गर्न सक्ने छन्। धामी, पुजारीले बालविवाहका बेफाइदाबारे जानकारी गराउँदा सर्वसाधारणमा राम्रो प्रभाव पर्ने भएपछि धार्मिक अगुवालाई अघि सार्नुपर्ने बालविवाह न्यूनीकरणमा सक्रिय गर्नुपर्ने संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला संयोजक गणेश शाहीले बताए। चेतना अभाव र धार्मिक अन्धविश्वासले यहाँ  बालविवाह गर्ने क्रम रोकिएको छैन। छोरीलाई कम उमेरमै कन्यादान गर्दा पुण्य हुने मान्यताले बालविवाह जटिल समस्याको रुपमा रहेको छ।

पछिल्लो समय अभिभावकको मञ्जुरी नलिइ किशोरकिशोरी आफै भागेर विवाह गर्ने क्रम बढेकाले उनीहरुलाई सचेत गराउन आवश्यक भएर जनचेतनाका क्रियाकलाप सञ्चालन गर्नुपर्ने देखिएको छ। तीन वर्षयता विभिन्न सरकारी तथा गैरसरकारी निकायले बालविवाह न्यूनीकरणको अभियान सञ्चालन गरेको भए पनि बालविवाहमा कमी आउन सकेको  छैन। मागी विवाहको ठाउँमा अहिले भागी विवाह हुने गरेको छ। बालविवाहले पार्ने असरका बारेमा समाजका नागरिक अझै सचेत भएका छैनन्। जसको फलस्वरुप बालविवाह रोक्न निकै चुनौतीपूर्ण रहेको छ।

प्रकाशित: ६ जेष्ठ २०७६ ०४:०८ सोमबार

बालविवाह स्थानीय_तह