समाज

हुरीपीडित विद्यार्थीलाई शैक्षिक सामग्री

हुरीपीडित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै नेपाल रिपब्लिक मिडिया प्रालिकी निर्देशक शोभा ज्ञवालीलगायत। तस्बिर ः नागरिक

बारा - गएको चैत १७ गतेको विनाशकारी हुरीबाट पीडित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। देवताल गाउँपालिकामा रहेका दुई सामुदायिक विद्यालयमा अध्ययनरत आठ सय ७७ विद्यार्थीलाई विश्व शान्ति महिला संघले शैक्षिक सामग्री वितरण गरेको हो। नेपाल राष्ट्रिय निम्नमाध्यमिक विद्यालय रौवाहीमा अध्ययनरत ६ सय ५० विद्यार्थी र नेपाल राष्ट्रिय प्राथमिक विद्यालय रमपुर्वामा अध्ययनरत दुई सय २७ विद्यार्थीलाइ कापी, कलम, शब्दकोशलगायतका सामग्री वितरण गरेको संघले जनाएको छ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा प्रमुख अतिथि शोभा ज्ञवालीले प्राथमिक र निम्नमाध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाको पढाइमा विशेष ध्यान दिनुपर्ने बताइन्। बालबालिकालाई पढ्ने लेख्ने वातावरण राम्रो भए मात्रै उनीहरु भविष्यमा ठूलो र सफल मान्छे बन्ने पनि उनले बताइन्। ‘साना बालबालिका पढ्ने विद्यालयमा पुगेर हेर्दा भौतिक पूर्वाधारको कमी देखिन्छ। पूर्वाधार पूरा गर्नतिर लाग्न जरुरी छ’, उनले भनिन्। वर्तमान सरकारले अघि सारेको सुखी नेपाली समृद्ध नेपाल नारा सार्थक पार्न शैक्षिक क्षेत्रमा ठूलो लगानी आवश्यक भएकोमा उनले जोड दिइन्। ज्ञवालीले शिक्षालाई प्राथमिकतामा राखेर अघि बढ्न विद्यार्थीलाई सुझाव दिइन्। लक्ष्य पनि ठूलो राख्ने र त्यसलाई पूरा गर्न मेहनत पनि गर्नुपर्ने उनले बताइन्।

विश्व शान्ति महिला संघ नेपालकी अध्यक्ष ब्लेसी गार्डन ढकालले शैक्षिक सामग्री वितरण सानो सहयोग भएको र आफूहरु हुरीपीडित बालबालिकासँग दुःख साट्न आएको बताइन्। साना बालबालिकाको आँखामा भविष्यमा केही गर्ने जोस देखिएको बताउँदै उनले बालबालिकाको सोच पूरा गर्न सबैले सहयोग गर्न जरुरी भएको औंल्याइन्। नेपाल राष्ट्रिय निम्नमाध्यमिक विद्यालय कक्षा ७ मा अध्ययनरत विद्यार्थी अभिषेककुमार मण्डलले प्राप्त शैक्षिक सामग्रीबाट पढाइमा ठूलो सहयोग पुग्ने बताए। कार्यक्रममा परिवार दल बाराका अध्यक्ष रामचन्द्र चौधरी, इस्थर ढकाल, विद्यालयका अभिभावक, निर्वाचित जनप्रतिनिधिलगायत सहभागी थिए।

प्रकाशित: ६ जेष्ठ २०७६ ०१:४३ सोमबार

हुरी पीडित शैक्षिक_सामग्री