समाज

नर्ससँग दश बुँदे सहमति, तोडियो अनशन

काठमाडौं - दश दिनदेखि अनशनरत दुई नर्सले आइतबार अनशन तोडेका छन्। जनजाति महासंघका पूर्वअध्यक्ष आङकाजी शेर्पाले केन्द्रकी नर्स डिक्की शेर्पालाई जुस खुवाएर अनशन तोडिएका हुन्। त्यसैगरी, नेपाल नर्सिङ संघमा अनशनरत अर्की नर्स जिता बराललाई पनि जुस खुवाएर अनशन तोडाइएको छ।

धर्मभक्त मानव अगं प्रत्यरोपण केन्द्रले ९६ नर्सको खुला स्थायी दरवन्दी लोक सेवा अनुसार हुने गरी विज्ञापन गरेपछि केन्द्रमा कार्यरत नर्स विरोधमा उत्रिएका थिए। विरोधकै क्रममा केन्द्रकी नर्स डिक्की शेर्पा र पोखराकी नर्स जिता बरालले केन्द्रका नर्सका पक्षमा अनशन थालेका थिए। वार्ता सफल भएलगत्तै केन्द्रका नर्सहरुले वार्तामा सहयोग गर्ने नेपाल ट्रेड युनियन महासंघ, केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ, नेपाल नर्सिङ महासंघ, अस्पतालमा पुगेका बिरामी तथा कुरुवा, स्वास्थ्य मन्त्रालयलगायत सबैप्रति आभार प्रकट गरेका छन्।

आइतबार स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ, स्वास्यकर्मी युनियनका प्रतिनिधी सविता सितखु, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दीलिप लामिछाने, नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखेरेल र केन्द्रकी नर्स सजना धौलासहितको रोहबरमा दश बुँदे सहमति भएको थियो। सहमतिअनुसार मानव अंग प्रत्यारोपण केन्द्रमा करारमा रहेका कर्मचारीलाई सम्बोधन हुने गरी स्वास्थ्य नियमावलीअनुसार सुरुमा प्रविधिकतर्फको विज्ञापन गरी परिक्षा सञ्चालन गर्ने, लोकसेवा परिक्षा सञ्चालन अघि नै केन्द्रको आइसियु र युरालोजी विभाग सञ्चालन गर्ने, प्रशासनतर्फको विज्ञापनको लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने, स्वास्थ्य ऐनसँग बाझिएका केन्द्रका नियमावलीलाई परिमार्जन गर्ने सम्झौता भएको छ।

त्यस्तै, लोकसेवा परीक्षा २०७६ कात्तिकमा सञ्चालन गर्न केन्द्रका कर्मचारीसहित सम्बन्धित निकायमा पहल गर्ने, केन्द्रमा नर्सिङ निर्देशक काजमा व्यवस्था गरी स्थायी दरबन्दीको लागि प्रारम्भ गर्ने, केन्द्रको बोर्ड बैठकमा नर्सिङ निर्देशकको सहभागिता अनिवार्य गर्नुपर्ने सहमतिमा उल्लेख छ। सहमतिमा केन्द्रको भौतिक विकास, सेवासुविधा, स्तरोन्नतिको लागि पहल गर्ने उल्लेख छ। सहमितलगत्तै अनशनरत नर्स शेर्पा र बराललाई अनशन तोड्न अनुरोध गर्ने, आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने, अनशन र आन्दोलनको क्रममा घाइते, बिरामी कर्मचारी तथा स्वास्थ्यकर्मीको सम्बन्धित अस्पतालबाट निःशुल्क उपचार गर्ने, गिरफ्तार कर्मचारीलाई तत्कालै रिहा गर्ने, मुद्दा लगाइएको भए फिर्ता गर्न सम्बन्धित निकायमा पहल गर्ने लगायत बुँदा उल्लेख छ। अनशनका कारण दुवै नर्स बिरामी छन्। केन्द्रकी नर्स डिक्की शेर्पाको स्वास्थ्यमा विभिन्न समस्या आएपछि आइतबारदेखि उनलाई केन्द्रकै आइसियुमा राखिएको छ। केन्द्रका नर्सहरुको माग प्रति ऐक्यवद्धता जनाउँदै दश दिनदेखि नै नेपाल नर्सिङ संघको कार्यालयमा अनशन बसेकी बराल पनि बिरामी परेपछि उपचारका लागि विपी स्मृति अस्पतालमा भर्ना गरिएको छ। उनलाई ज्वरो आउने, छाति दुख्ने, जीउ सुन्निने समस्या छ।

प्रकाशित: ६ जेष्ठ २०७६ ०१:२२ सोमबार

अनशन नर्स सहमति