समाज

चण्डेश्वरीजात्रामा झुम्यो भक्तपुर

चण्डेश्वरी अजिमा देवताको परिक्रमा गराइँदै।

भक्तपुर– शुक्रबार रातिदेखि भक्तपुरको चासुखेलमा सुरु भएको चण्डेश्वरी जात्रा शनिबार सम्पन्न भएको छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन भक्तपुर नगरको टिबुक्छें चासुखेलस्थित चण्डेश्वरी मन्दिरअगाडि मनाइने जात्रा धुमधामका साथ सम्पन्न भएको हो।

वैशाख शुक्ल पूर्णिमा र अघिल्लो दिन गरी दुई दिन जात्रा मनाउने परम्पराअनुसार शुक्रबार रातिबाट सुरु भएको जात्रा शनिबार दिनभर धुमधामका साथ मनाइयो। चासुखेलस्थित चण्डेश्वरी देवीको तीनतले मन्दिर वरपर जात्रा गरिएको हो।

शनिबार बिहानदेखि मन्दिरमा बलीसहित पूजाआजा गरिएको थियो। त्यससमय छोरीबेटी बुहारीले आप्mनो भाकल अनुसार सारी चढाएका थिए। जात्राको क्रममा साँझ चण्डेश्वरी देवीलाई खटमा विराजमान गर्नु अगावै रित्तो खटको जात्रा गर्ने चलन छ। त्यसपछि देवीलाई खटमा विराजमान गराई बाजागाजाका साथ ठूलो लावालस्करसहितको जात्रा भएको थियो।

जात्रा टिबुक्छे हुँदै साकोठाबाट पुग्ने चलन छ भने पूजा सकिएपछि चण्डेश्वरी देवी पुनः सोही बाटो फिर्ता हुने प्रचलन छ। तत्पश्चाात चण्डेश्वरी देवीको खट सुकुलढोका, गोलमढी, इनाचो हुँदै तचपालको चौबाटोमा लगिन्छ। सो क्रममा खटलाई नबोकीकन भुइँमा घिसार्दै जात्रा चलाउने अनौठो परम्परा भक्तपुरमा छ। त्यहाँबाट खटलाई पुनः बोकी गोल्मढी, याता, गलसा पुखु हुँदै क्वाछे ओरालोसम्म लगिए पनि पुनः खटलाई चण्डेश्वरी मन्दिर पु-याएर खटबाट निकाली पूजा गरिन्छ। साँझ चण्डेश्वरी देवीको फूलप्रसाद पु-याएपछि मात्र बनेपाको चण्डेश्वरीको जात्रा सुरु हुने परम्परा छ।

जात्राको पहिलो दिन शुक्रबार साँझ चण्डेश्वरीको मूर्ति देवताघरबाट निकालेर पूजाआजाका साथ सिंगारिएको खटमा आरोहण गराइएको थियो। जात्राको सुरुवात कहिलेदेखि भएको हो यकिन नभएको संस्कृतिविद् जननीप्रसाद मूल बताउँछन्। मन्दिरसँग सम्बन्धित केही शिलालेखमा नेपाल सम्बत ८४८ जेष्ठ कृष्ण त्रयोदशीका दिन तत्कालीन भक्तपुरका राजा रणजीत मल्लको समयमा टिबुक्छे टोलका पञ्च समुदाय मिली मन्दिरमा सुनको छाना छाएको प्रसङ्ग उल्लेख छ। त्यस्तै नेपाल सम्बत ८६५ मा चण्डेश्वरी देवीमा पाटी बनाएको अर्को शिलालेखमा उल्लेख छ। यसबाट भक्तपुरको चण्डेश्वरी देवीको मन्दिरको स्थापना एवम् जात्रा रणजीत मल्लको पालामा भएको अनुमान भएको मूल बताउँछन्।

प्रकाशित: ५ जेष्ठ २०७६ ०५:१५ आइतबार

चासुखेल चण्डेश्वरी_जात्रा जात्रा