समाज

गढिमाईमा विवाहमण्डप र धर्मशाला बनाइँदै

बारा - महागढिमाई नगरपालिका–१ को बरियारपुरस्थित गढिमाई मन्दिरपरिसरमा विवाह मण्डप र धर्मशालाको शिलान्यास गरिएको छ। प्रदेश सरकारको सहयोगमा निर्माण गरिने विवाह मण्डप र धर्मशालाको प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले शनिबार एक कार्यक्रमबीच शिलान्यास गरेका हुन्।

गढिमाई मन्दिर दर्शन गर्न आउने स्वदेशी तथा विदेशी धार्मिक पर्यटकलाई बास बस्न धर्मशालाले सहयोग गर्ने विश्वास गरिएको छ। सो मण्डप र धर्मशाला निर्माणका लागि निर्माण कम्पनी भ्याली बाबु रत्न जेभी ललितपुरले शुक्रबार दुई वर्षभित्रमा सक्नेगरी ठेक्का जिम्मा लिइसकेको छ। कम्पनीले मूल्य अभिवृद्धि करसहित सात करोड ५९ लाख ७३ हजार रुपैयाँमा ठेक्का लिएको हो।

दुई तले निर्माण गरिने विवाह मण्डप र धर्मशालामा ५० वटा कोठा रहनेछन्।

दुई तले निर्माण गरिने विवाह मण्डप र धर्मशालामा ५० वटा कोठा रहनेछन्। निर्माण पूरा भएपछि जनकपुरको जानकी मन्दिरमा जस्तै विवाह मण्डप र धर्मशालाको सुविधा हुने बताइएको छ। विवाह मण्डप र धर्मशाला सँगै जोडिएर बन्ने भएकाले चार सय जना क्षमताको सभाहलसमेत निर्माण हुने भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सोनलले प्रदेश २ मा धार्मिक पर्यटक भिœयाउने उद्देश्यले सरकारले पूर्वाधार नभएका धार्मिक स्थलमा पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राखेको बताए। पूर्वाधार निर्माणपछि धार्मिक पर्यटकको आगमनमा वृद्धि हुने र त्यसले धेरैलाई रोजगारी दिने मन्त्री सोनलको धारणा छ। उनका अनुसार विश्व प्रसिद्ध गढिमाई मन्दिर पूर्वाधार निर्माणमा निकै पछि परेकाले प्रदेश सरकारले विवाह मण्डप र धर्मशाला निर्माण गर्न लागेको हो। यसका साथै प्रदेशभित्र पूर्वाधार विकासका कारण पछि परेका अन्य धार्मिक स्थलको विकास कार्यमा पनि प्रदेश सरकार लागिपरेको छ।

प्रदेश २ मा धार्मिक पर्यटकलाई भिœयाएर ठूलो मात्रामा रोजगारी सृजना गर्न सकिने भए पनि त्यसअनुुसार पहिलादेखि लगानी नगरिएको गुनासो मन्त्री सोनलले गरेका छन्।

उनले अहिले प्रदेश २ मा गरिबी मुख्य चुनौती रहेको र त्यसका लागि रोजगारी वृद्धि हुने क्षेत्रमा प्रदेश सरकारबाट लगानी गर्न जरुरी रहेको धारणा राखे। कार्यक्रममा प्रदेश सभा सदस्य पारस साह, महम्मद समिर, प्रतिनिधि सभा सदस्य रामएकबाल मियाँलगायतको उपस्थिति रहेको थियो।
फोटो ः गढिमाई मन्दिर क्षेत्रमा निर्माण हुने विवाह मण्डप र धर्मशालाको शिलान्यास गर्दै मन्त्री सोनल।

प्रकाशित: ५ जेष्ठ २०७६ ०२:३६ आइतबार

महागढिमाई_नगरपालिका मन्दिर विवाहमण्डप धर्मशाला