समाज

भारतीय सहयोगमा क्याम्पस भवनको निर्माण

उदयपुर– भारत सरकारको सहयोगमा उदयपुरमा क्याम्पस भवन निर्माण गरिएको छ। ३ करोड २ लाख रुपैयाँ अनुदान सहयोगमा निर्मित चौदण्डीगढी नगरपालिकाको श्री आदर्श शिक्षा क्याम्पसको २ तले भवनको शनिबार सांसद नारायण खड्काले उद्घाटन गरेका छन्। उद्घाटन समारोहमा भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. अजय कुमार विशेष अतिथिको रुपमा उपस्थित थिए। 

नवनिर्मित भवनमा १२ कक्षा कोठा, पुस्तकालय, सभा कक्ष, छात्र तथा छात्राका लागि छुटाछुट्टै शौचालय र फर्निचरको व्यवस्था रहेको छ।

नयाँ भवनले विद्यार्थीको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने तथा भोजपुर, खोटाङ, सुनसरी, सप्तरी लगायतका जिल्लाका ग्रामिण भेगका विद्यार्थीको शिक्षामा पहुँच समेत बढाएको छ।

सन् १९७१ मा माध्यामिक विद्यालयको रुपमा स्थापना भएको यो क्याम्पस २००३ मा क्याम्पसमा स्तरोन्नती भएको थियो। क्याम्पसमा १३५ विद्यार्थी अध्ययनरत छन्। क्याम्पसले शिक्षा संकायको चार वर्षे बिएड कार्यक्रम प्रदान गर्दै आएको छ।   

प्रकाशित: ४ जेष्ठ २०७६ १४:०१ शनिबार

भारतको_सरकार भवन श्री_आदर्श_शिक्षा_क्याम्पस उदयपुर