समाज

लिम्बू सङ्ग्रहालय ओझेलमा

ताप्लेजुङ– सिरिजङ्घा गाउँपालिकास्थित मामाङ्खेमा स्थापित लिम्बू सङ्ग्रहालयको उचित व्यवस्थापन र प्रचारप्रसार हुनसकेको छैन। लिम्बू समुदायको पहिचान झल्काउने ऐतिहासिक सामग्री सङ्कलन गरी विसं २०५७ मा स्थापना गरिएको उक्त सङ्ग्रहालय प्रचारप्रसारको अभावमा गुमनाम जस्तै बनेको छ। सङ्ग्रहालयको उचित व्यवस्थापन हुननसकेकाले जीर्ण बन्दै गएको छ।

'लिम्बू समुदायमा आधारित ऐतिहासिक सामग्री सङ्कलन गरेर सङ्ग्रहालय स्थापना गर्‍यौँ, तर प्रर्याप्त बजेट अभावमा यसको थप व्यवस्थापन र ग्रामीण क्षेत्रमा रहेकाले खासै प्रचारप्रसार हुन नसक्दा गुमनाम जस्तै बन्यो”, संग्रहालय व्यवस्थापन समितिका सदस्य टीका मावोले भने।

यातायातको पहुँच नहुँदा अवलोकनकर्ता समेत कमै मात्र पुग्ने गरेका उनको भनाइ छ। 'यातायातको पहुँच छैन, पैदल हिँडेर अवलोकनकर्ता आइपुग्दैनन्, प्रचारप्रसार पनि छैन', उनले भने। जिल्लाका अधिकांश ठाउँमा सडक पुगेको भए पनि मामाङ्खेमा भने पुग्नसकेको छैन। यहाँसम्म सडक निर्माण र प्रचारप्रसार भएमा आन्तरिक तथा बाह्य पर्यटक बढ्ने स्थानीयवासीको अपेक्षा छ।

व्यवस्थापन समितिले सङ्ग्रहालयको प्रर्वद्धनका लागि गुरुयोजना बनाएर काम गर्ने तयारी गरेको छ। यता सङ्रग्रहालयको प्रवर्द्धनका लागि केन्द्र, प्रदेशका साथै स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्ने सांसद योगेश भट्टराईले बताउनुभयो। लिम्बू समुदायको पहिचान र ईतिहासलाई संरक्षण गर्ने कुरामा कुनै कन्जुस्याइ नहुने उहाँको भनाई छ। उक्त सङ्ग्रहालयमा विसं १८१४ र १८३१ मा पृथ्वीनारायण शाहले लिम्बूसँग गरेको सम्झौता र युद्धमा प्रयोग गरिएको ढालहरुलाई संग्राहलयमा संरक्षण गरेर राखिएको छ।

सयवर्षअघि फेदाङ्वा र विजुवाहरुले प्रयोग गर्ने जामा, पगरी पनि सो सङ्ग्रहालयमा हेर्न पाइन्छ। लोप हुने अवस्थामा पुगेका लिम्बू जातिको जन्मदेखि मृत्युसम्मका संस्कारमा प्रयोग हुने दुई सय बढी सामग्रीसमेत उक्त सङ्ग्रहालयमा राखिएको छ। रासस

प्रकाशित: ४ जेष्ठ २०७६ ०६:४२ शनिबार

सिरिजङ्घा_गाउँपालिका प्रचारप्रसार पर्यटन