समाज

धर्मभक्त मानव अंग प्रत्यारोपणका ११ नर्स पक्राउ

काठमाडाैँ - १८ दिनदेखि बिरोधमा उत्रिएका  धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका ११  नर्सहरुलाई जगाती प्रहरी बृत्तले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा नर्स त्रजिना जती,ललित मोक्तान,रविना तनाबसु,शान्ति कुमाल ,लिना खरवुजा,सजना द्यौला,संगिता मास्के,सृजना दली लगायत छन्।

उनीहरुलाई धर्ना दिने विषयमा छलफल गरिरहेको अवस्थामा अस्पताल हाताभित्रैवाट पक्राउ गरेको आन्दोलन नर्स इला कोइरालाले बताइन्।

‘हामी छलफल गरेर बसिरहेका थियौं,पहिला प्रहरीले दश मीनेट भित्र बाहिर निस्कनु भने,एक छिनमै आएर प्रहरीले घिसारेर लगे’कोइरालाले भनिन्। अस्पताल प्रशासनले नर्सहरु लोकसेवा आयोग नपुगुन् भनेर प्रहरी बोलाएको उनीहरुको आरोप छ।

‘नर्सहरुको समुह आज लोकसेवा आयोग जाने तयारी थियौं,त्यही बेला प्रहरीले पक्राउ गर्यो’उनले भनिन्। मानव अंग प्रत्यारोपण केन्द्र र नेपाल नर्सिङ संघ आजै (शुक्रवार) लोकसेवा आयोगसित छलफलको लागि जाने कार्यक्रम थियो।

गत वैसाख १३ गते धर्मभक्त मानव अंग प्रत्यरोपण केन्द्रको लागि ९६ जना नर्सको दरवन्दी सूचना प्रकाशित गरेपछि बिरोधमा उत्रिएका थिए । सात वर्षदेखि केन्द्रमा कार्यरत नर्सलाई बाहिराउन ढिला गरी खुल्ला दरवन्दी प्रकाशित गरेको उनीहरुको गुनासो छ।

भक्तपुर महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालय श्रेष्ठका अनुसार नर्सहरुले अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा अवरोध पुर्‍याएको कारण ११ जना नर्सहरुलाई पक्राउ गरेको जनाएका छन्। ‘अस्पताल भित्र विरामीको आवात–जावात बन्द गर्न खोज्ने,सेवा बन्द गर्न खोज्ने जस्तो काम गरेको कारण पक्राउ गरेका हौं’ प्रमुख श्रेष्ठले भने।

 

प्रकाशित: ३ जेष्ठ २०७६ ०७:२८ शुक्रबार

धर्ना नर्स पक्राउ आन्दोलन