समाज

भोज खाँदा एकै गाउँका १ सय ६ जना बिरामी, दुईको अवस्था गम्भीर

पाल्पा– तिनाउ गाउँपालिका–४, कोलडाँडाको बौरिडाँडाँमा प्रसाद (भोज) खाएका एकै गाउँका १ सय ६ जना बिरामी परेका छन्। छिमेकीको १३ दिने पुण्य तिथिमा मृत्यु संस्कार पछि प्रसादको रुपमा खाना खाएकाहरु झाडापखाला लागेर बिरामी परेका हुन्।

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बिरामी परेकाहरु मध्ये ११ जनालाई लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका लागि पठाईएको बताए। उनी भन्छन्, ‘बिरामी परेका मध्ये १२ जनालाई सलाइन चढाइयो। अरुलाई सामान्य उपचार गरिएको छ।’ ‘बुधबार मान्छे मरेको ठाउँबाट निस्कनी (चोसो) भएको ठाउँमा बसाएको अचार खाएको भन्छन्। फुड प्वाइजन भएको जस्तो पनि देखिन्छ। हामी जानकारी पाउनासाथ घटनास्थलमा पुग्यौं’, सूचना अधिकारी ज्ञवालीले भने, ‘डाक्टर सहित घटनास्थलमा पुगेका हौं। सुन्दर तरामुको नेतृत्वमा ८ जनाको टोलीबाट उपचार गरियो। अहिले एक जना स्वास्थ्यकर्मी र गाडी घटनास्थलमै छ।’

तिनाउँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले गाउँपालिकाबाट स्वास्थ्य कार्यालयसँग समन्वयमा घटनास्थलमा स्वास्थ्यकर्मीहरु पठाएको बताए। उनले प्रसाद खाएको भनिएता पनि हल्ला जस्तो बर्ड फ्लु हुन नसक्ने बताए। फूड प्वाईजनका कारण बिरामी परेको आशंका गरिए पनि यथार्थ पत्ता लाग्न सकेको छैन।

पाल्पाका प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवले भोज भतेरको फूड प्वाईजनीङ भएको आशंका गरिएको भएता पनि सबैलाई एकै पटक समस्या आएपछि थप बुझ्नु आवश्यक रहेको बताए। उनले लुम्बिनी मेडिकल कलेजमा उपचाररत दुई जनालाई आईसीयुमा राखिएको बताए।

प्रकाशित: २ जेष्ठ २०७६ १५:२८ बिहीबार

भोज बिरामी तिनाउ_गाउँपालिका