समाज

९ महिनादेखि बेपत्ता विद्यार्थीको शव रोबर्टले पत्ता लगायो, सुरक्षाकर्मीलाई अमेरिकी विशेषज्ञको साथ

सोलुखुम्बु– सोलुखुम्बुको गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका सुनिल बराईलीको शव भेटिएको छ। विदेशी विशेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बेपत्ता भएको ९ महिनापछि बराईलीको शव करिब ३५ फिट गहिराईबाट निकालेको हो।  

बराईली साथीको उद्धार गर्न जाने क्रममा जीउमा लगाएको कपडासहित डुबेका थिए। सोही आधारमा उनको पहिचान गरिएको हो। बेपत्ता मध्ये पेम्बा दोर्जी शेर्पाको शब मात्र फेला पर्न बाँकी छ। खोजकर्ताले परिचालन गरेको रोबर्टले करिब ३५ फिट गहिराईमा शव पहिचान गरेर बाहिर निकालेको हो। बुधबारदेखि नै खोजी सुरु गरेको टोलीले विहीबार बिहान मात्र शव पहिचान गरी बाहिर निकाल्न सफल भएको हो।  

अमेरिकाको क्यालिफोर्नियाबाट आएका जेर्मी कर्मिकन, केइथ कर्मिकन र केन ग्रेइसी, सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुरुषोत्तम भण्डारी, पथप्रदर्शक देण्डी शेर्पाको टोलीले बुधबार दिनैभर रोबर्ट तथा अन्य उपकरण प्रयोग गरी शबको खोजी गरेको थियो। निरन्तरको प्रयासपछि डुबेकै ठाउँको आसपासमा शब भेटिएको सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुरुषोत्तम भण्डारीले जानकारी दिए। 

गत असोजमा ताका खुम्बु भ्रमणमा आएको विदेशी टोलीले बेपत्ताको शव खोजी गर्न सक्ने बताएपछि बेपत्ताका परिवारले खोजी गरिदिन आग्रह गरेका थिए। शैक्षिक भ्रमणमा गएका बेला गोक्यो तालमा पौडी खेल्ने क्रममा ३ जना छात्र गत साउनमा बेपत्ता भएका थिए। बेपत्ता मध्ये पेम्बा नुरु शेर्पाको शव केही दिनपछि भेटिए पनि पेम्बा दोर्जी शेर्पा र सुनिल बराइली बेपत्ता थिए। 

प्रकाशित: २ जेष्ठ २०७६ १३:५९ बिहीबार

विद्यार्थी_वेपत्ता शव रोबर्ट गोक्यो_हिमताल अमेरिकी_विशेषज्ञ