समाज

आफैंलाई जित्दै कामिरिता

सगरमाथाको शिखरमा आरोही कामिरिता शेर्पा। तस्बिर सौजन्य : सेभेन सम्मिट ट्रेक्स

काठमाडौं - संसारमा विभिन्नखाले प्रतिस्पर्धामा एकले अर्कालाई जित्ने र हराउने क्रम चलि नै रहेको हुन्छ। नेपालका एक आरोहीले भने आफैंलाई जितेर विश्वको ध्यान आफूतिर खिचेका छन्। २२औं पटक सगरमाथा चढेको आफ्नै रेकर्ड तोड्दै बुधबार बिहान ७ बजेर ५० मिनेटमा २३औं पटक सर्वोच्च शिखर चुमेका ४९ वर्षीय कामिरिता शेर्पा सबैका मनमा छाउन पुगेका हुन्।

सन् १९५३ मे २९ मा तेन्जिङ शेर्पासँगै पहिलोपटक सगरमाथा चढेका एडमन्ड हिलारीले भनेका थिए, ‘सगरमाथा दोस्रोपटक कसले चढ्यो भनेर कसैले हेक्का राख्दैन्।’ उनले त्यस्तो बताएको ६६ वर्षपछि ४९ वर्षीय कामिरितालाई धेरैले हेक्का राखे। सन् १९९४ मा पहिलोपटक सगरमाथा आरोहण गरेका सोलुखुम्बु थामे गाउँमा जन्मेका शेर्पाले यसपटक दक्षिणी मोहडाबाट शिखर चुमेको पर्यटन विभाग पर्वतारोहण शाखाका नायब सुब्बा रामेश्वर निरौलाल जानकारी दिए।

धेरैपटक सगरमाथा चढ्ने प्रतिस्पर्धाबाट अगाडि बढेका शेर्पाले यसपटक आफैंसँगको प्रतिस्पर्धामा विजयी भएका हुन्। २१औं पटक सगरमाथा चढेर उनीसँगै प्रतिस्पर्धामा आप्पा शेर्पा र फुर्वातासी शेर्पालाई पछि पार्दै उनी प्रतिस्पर्धाको चुचुरोमा पुगेका हुन्। उनीहरूले पहिल्यै आरोहणबाट सन्न्यास लिइसकेका कारण चाँडै उनको कीर्तिमान भंग हुने देखिँदैन। उनले कसैलाई जित्नभन्दा पनि आफ्नो रहर पूरा गर्न सगरमाथा चढ्ने गरेको बताउने गरेका छन्। २३औं पटक सरमाथाको सफल आरोहणलगत्तै संसारभरका सञ्चार जगत्मा छाएका शेर्पाले आरोहणअघि २५ पटक चुचुरोमा पुगेर मात्रै आराम गर्ने बताएका थिए।

२३औं पटक सरमाथाको सफल आरोहण गरेलगत्तै संसारभरका सञ्चारजगत्मा छाएका शेर्पाले आरोहणअघि २५ पटक चुचुरोमा पुगेपछि मात्रै आराम गर्ने बताएका थिए।

नेपाल पर्वातोरहण संघका महासचिव कुलबहादुर गुरुङले कीर्तिमानको खबरले खुसी मिले पनि यस्ता कीर्तिमान कायम गर्नेहरूलाई जोगाउन राज्यले पहल गर्नुपर्ने बताए। ‘बाध्यताले या पारिवारिक स्थितिले पनि लगातार सगरमाथा चढ्नुपरेको हुनसक्छ,’ उनले भने, ‘राष्ट्रका यस्ता धरोहरलाई राज्यले प्याकेज ल्याएर हुन्छ या अन्य केही गरेर हुन्छ, ध्यान पुराउनु जरुरी छ।’ कामिरिताले धेरैपटक सगरमाथा चढ्नुभन्दा पनि आफूले आर्जन गरेको ज्ञान र सीप हस्तान्तरण गर्नु जरुरी रहेको उनको बुझाइ छ। ‘यो सफलताले फेरि एकपटक मुलुकको पर्यटन, शेर्पाको ख्याति र नेपालीको सम्मान बढेको छ,’ उनले भने, ‘अब रेकर्ड तोड्दै जानेभन्दा पनि हिमालमा आर्जन गरेको सीप र ज्ञान युवा पिँढीमा बाँड्नु जरुरी छ।’

बुधबार बिहान कामिरितासँगै ओङ्दी शेर्पाले पनि सेभेन समिट्स ट्रेक्समार्फत सगरमाथाको सफल आरोहण गरेका छन्। हिमाल चढ्न आफैंमा कठिन भए पनि प्रविधिमा आएको परिवर्तनले पहिलेभन्दा सहज भएको कतिपयको बुझाइ छ। ‘तालिम र प्रविधिले पछिल्लो समयमा आरोहण सहज बनाएको छ,’ नेपाल राष्ट्रिय पर्वातोरहण पथप्रदर्शक संघका तुलसिंह गुरुङले भने, ‘राम्रो गाइडिङ र आधुनिक प्रविधिले धेरैको जीवन जोगाएको छ।’ कामिरिता शेर्पा देशकै गहना रहेको बताउँदै उनले यो कीर्तिमानमा सबैले गौरव गर्ने उल्लेख गरे। कामिरिता, ङिमानुरु शेर्पा, आप्पालाई पछ्याउँदै अन्यले पनि थुप्रैपटक सगरमाथा चढिसकेका छन्। पर्यटन विभागका अनुसार आङदोर्जी शेर्पाले १९ पटक, मिङ्माछिरी शेर्पाले १९, छेवाङनिमा शेर्पाले १९, लाक्पारिता शेर्पाले १७, निमा गोम्बु शेर्पालगायतले १६ पटक आरोहण गरिसकेको जनाएको छ।

सगरमाथाका टुप्पामा सफलतका अनेकन् बाटा हुन्छन् तर त्यो बेसक्याम्पबाट देखिन्न। कीर्तिमानधारी कामिरिताकी ४२ वर्षीया पत्नी लाक्पा शेर्पालाई यस्तै लागेको छ। उनी बेसक्याम्पसम्म त पुगेकी छन् तर सगरमाथा चढेकी छैनन्। तर पतिको सफलताबाट उनी खुसी छिन्। सगरमाथामाबाट घर नफर्केसम्म भने आफ्नो मन शान्त हुन नसक्ने उनले सुनाइन्।

प्रकाशित: २ जेष्ठ २०७६ ०२:०६ बिहीबार

तेन्जिङ_शेर्पा सगरमाथा आरोहण