समाज

किशोरीको बीभत्स हत्या, महिलामाथि सामूहिक बलात्कार

पाँचथर - जिल्लामा पछिल्ला दिनमा भएका दुई दर्दनाक घटनाले सबैलाई चिन्तित तुल्याएको छ। शान्तिसुरक्षाप्रति केन्द्रीय तथा प्रदेश सरकारले प्रतिबद्धता जनाइरहे पनि जघन्य प्रकृतिका अपराध बढ्ने क्रम रोकिएको छैन। जिल्लामा एक १५ किशोरीको घाँटी रेटेर हत्या गरिएको छ भने ५८ वर्षीय एक महिला सामूहिक बलात्कारको सिकार भएकी छन्। हिलिहाङ गाउँपालिका–४ पञ्चमीको कात्तिकेमा किशोरीलाई घरनजिकै घाँटी रेटी हत्या गरिएको हो। फिदिम नगरपालिकामा ५८ वर्षीय महिलामाथि बिहे भइरहेको ठाउँबाटै जबर्जस्ती उठाएर लगी सामूहिक बलात्कार गरिएको घटनाको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेको छ।

घरदेखि केही माथि किशोरी शीतल योङहाङको शव भेटिएको थियो। घाँटी रेटेर बीभत्स ढंगले हत्या गरेको देखिएको प्रहरी निरीक्षक अनिल पौडेलले बताए। फाल्गुनन्द गाउँपालिका–२ पात्लेका पदम तामाङ र भगीरथ बास्तोलाले हत्या गरेको किटानी जाहेरी दर्ता भएको छ। यीमध्येका बास्तोलालाई पक्राउ परिसकेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए। ‘दुईजना मिलेर मान्छे नबस्ने घरमा लगेर हत्या गरेको पाइएको छ। पक्राउ परेका बास्तोलाले हत्या गरेको स्वीकार गरेका छन्,’ पौडेलले नागरिकसँग भने, ‘पदमलाई खोजिरहेका छौं। घटनाबारे अनुसन्धान जारी छ।’ बास्तोला तामाङको साथी बनेर गएको खुल्न आएको छ। बास्तोलालाई फिदिमको बसपार्क क्षेत्रबाट पक्राउ गरिएको थियो। तामाङ किशोरीको प्रेमी भएको चर्चा भइरहेको छ। एक वर्षयता फोनमा बोल्ने गरेको स्थानीयको भनाइ छ। किशोरी योङहाङ र तामाङले मोबाइल साटेको खुल्न आएको छ।

साटिएको मोबाइल फिर्ता लिन भन्दै योङहाङ घरबाट हिँडेको बताइएको छ। बास्तोलाले तामाङले आफूलाई साथी लगेको बताएका छन्। तीन दिनदेखि दुई जना कात्तिके भन्ने ठाउँमा मास्क लगाएर हिडिरहेको स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पहिचान गरेको हो। प्रेम सम्बन्धमा दरार आएपछि अपराध भएको हुनसक्ने आशंका भएको छ। जिल्लामा यसप्रकारका घटना बिरलै मात्र हुने गरेको छ। यो घटनाले विद्यालय उमेरका छोराछोरी भएका अभिभावक त्रसित भएका छन्। परिवारका अनुसार कक्षा १० मा पढ्ने शीतल विद्यालयबाट फर्किएर घरको केही काम गरी दिउँसो साढे ४ बजेतिर घरबाट निस्किएकी थिइन्। राति ७ः३० बजेतिर एक शिक्षकले सडक छेउमा मान्छेजस्तो देखेपछि गाँउलेलाई बोलाएर हेर्दा किशोरीको शव भेटिएको थियो।

आफूमाथि बलात्कार भएको भन्दै यता फिदिमकी ५८ वर्षीया महिलाले तीनजनाविरुद्ध जाहेरी दिएपछि त्यसबारे अनुसन्धान भइरहेको छ। बिहेमा सहभागी हुन गएको मौकामा जर्बजस्ती तानेर लगी दुईजनाले बलात्कार गरेको पीडित महिलाले बताएको प्रहरीले जानकारी दिएको छ। अर्को एकजनाले बलात्कार प्रयास गर्दागर्दै महिलाले प्रतिकार गरेको खुल्न आएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए। तेस्रो व्यक्तिले बलात्कार गर्न खोज्दा प्रतिकार गर्न पाएर आफूले हल्ला गरेपछि गाँउलेहरू भेला भएको महिलाले प्रहरीसामु बताएकी छन्। रातको समयमा घिसारे लगी बलात्कार गरेको उनको आरोप छ। बलात्कारको आरोप लागेकामध्ये एकजना पक्राउ परेका छन्। फिदिम–१४ का ४५ वर्षीय धनसिंह फागोलाई गाँउलेले पक्रेर प्रहरीलाई बुझाएका थिए। थप दुईजनाको खोजी कार्य जारी रहेको पौडेलले बताए।

प्रकाशित: ३१ वैशाख २०७६ ०२:३८ मंगलबार

घटना हत्या बलात्कार