समाज

धुलोको कुइरीमण्डलले छोपिँदै गाउँ

सर्लाही - चर्को गर्मीका कारण हावा खानका लागि झ्याल खोल्दा धुलोको मुस्लो पस्ने गरेपछि नवलपुर–मलंगवा सडकखण्डअन्तर्गत गैरबजारका रजनीकान्त झाले झ्याललाई फिक्स (सधैंका लागि बन्द) नै गरेका छन्। ‘हावा खान भनेर झ्याल खोल्नेबित्तिकै धुलोको मुस्लो छर्छ, धुलो खानुभन्दा त बरु गर्मी नै सहन बेस ठानेर झ्यालमा नखुल्ने गरी किला ठोकिदिएको छु,’ पूर्व प्रधानाध्यापकसमेत रहेका झाले गुनासो गरे, ‘वर्षदिन अगाडि सुरु भएको खोकी र घाँटीको खसखस अझै बिसेक भएको छैन, सडक कालोपत्रे नहुँदा सवारीसाधनले उडाएको धुलोले हरिबिजोग बनाएको छ।’

त्यस्तै गैरबजारस्थित सडक किनारमा सिलाइको काम गर्दै आएका उमेश साह धुलोको समस्याले आजित छन्। बिहान सबेरैदेखि साँझसम्म सडक किनारको खुला ठाउँमा सिलाइको काम गर्दै आएका साह दिनहुँ धुलोले छपक्कै हुने गरेका छन्। ‘दिनको सय ग्राम धुलो त खाइन्छ होला,’ साहले भने, ‘के गर्नु धुलो छ भनेर काम नगरौं भने घरपरिवार धान्नै परो।’ १२ वर्षदेखि जीर्ण नवलपुर–मलंगवा सडकखण्ड कालोपत्रे नहुँदा हिउँदमा धुलो र वर्षामा हिलोले पीडित हुने झा र साह नमुना पात्रमात्र हुन्। सडक दायाँबायाँका बासिन्दा, पैदल हिँड्ने मानिस, साइकल तथा मोटरसाइकल यात्रु दैनिक गुड्ने सयौं ठूला सवारीसाधनले उडाउने धुलोले छपक्कै छोपिने गरेका छन्। पूर्व–पश्चिम राजमार्गसँग सदरमुकाम मलंगवा जोड्ने एकमात्र नवलपुर–मलंगवा सडकखण्डको ६ किलोमिटर सडक कालोपत्रे नहुँदा लक्ष्मीपुर, हरैया, गैरलगायत बजारका बासिन्दा धुलोको कुइरीमण्डलभित्र हराउन बाध्य छन्।

‘ठेकेदारले न सडकमा पानी छर्किन्छ न कालोपत्रेको काम नै भटाभट गर्छ, हामी त धुलोले हैरान भइसक्यौं,’ धुलोपीडित सुरेश रायले भने, ‘स्थानीय प्रशासनसहित सरकार पनि आँखा चिम्लेर बसेको छ। जनताले खेपिरहेको सास्ती देख्दैदेख्दैन।’ पटक–पटक राजमार्ग अवरोध गरेर धुलोको समस्याबारे पटकपटक ध्यानाकर्षण गराउँदा पनि धुलो नियन्त्रण गर्नेतर्फ कुनै काम नभएको स्थानीयको आरोप छ। रायका अनुसार प्रत्येक पटकको विरोध प्रदर्शनपछि प्रहरी, प्रशासन, ठेकेदार र गाउँलेबीच चाँडो समस्या समाधान गर्ने सहमति हुन्छ तर कालोपत्रे गर्ने र धुलेसडकमा पानी हाल्ने काम भने हुँदैन।

सो २५ किलोमिटर सडकखण्डका लागि दुईवटा प्याकेजमा नालासहितको कालोपत्रे गर्न हुलाकी राजमार्ग आयोजनाले २०७३ भदौमा दुईवटा निर्माण कम्पनीसँग सम्झौता गरेको थियो। नवलपुर–गैर खण्डका लागि हिमडुङ एन्ड ठोकर÷हिरा एन्ड नमिता जेभीले २६ करोड ७१ लाख ५८ हजार रुपैयाँ तथा गैर–मलंगवा खण्डका लागि रमन–आश्रय जेभीले पनि २६ करोड ७१ लाख ५८ हजार रुपैयाँमै टेन्डर सकारेको थियो। तर दुवै कम्पनीले तोकिएको समयमा काम सम्पन्न गर्न सकेनन्। कालोपत्रेसहित सम्पूर्ण काम सक्ने म्याद सकिएको आठ महिना बितिसकेको छ। गैर–मलंगवा खण्डको भने कालोपत्रेको थोरै मात्र काम बाँकी रहेको छ। नवलपुर–गैर खण्डमा भने छ किलोमिटर कालोपत्रे नभएकाले सर्वसाधारण कुइरीमण्डल धुलोको शिकार हुन बाध्य छन्।

हुलाकी राजमार्ग योजना कार्यालय जनकपुरका प्रमुख राजेन्द्रप्रसाद दासले नवलपुर–गैर खण्डको ठेकेदार कम्पनीले काम नगरेका कारण पत्रिकामा सूचना नै प्रकाशित गरिएको बताए। ‘तल्लो गैर–मलंगवा खण्डमा झन्डै–झन्डै सकिन लागिसक्यो तर नवलपुर–गैर खण्डमा भने ठेकेदार कम्पनी लामो समयदेखि सम्पर्कविहीन थियो,’ साहले भने, ‘हामीले बाध्य भएर पत्रिकामै सूचना प्रकाशित गरेपछि भने दुई दिनअघि ठेकेदारका प्रतिनिधि सम्पर्कमा आएर चाँडो काम सुरु गर्ने प्रतिबद्धता जनाएका छन्।’ प्रमुख दासले काम सम्पन्न गर्ने सम्झौता अवधि गुज्रिसके पनि यही ठेकेदार कम्पनीलाई म्याद थप्नुको विकल्प नरहेको बताए।
२०६४ सालदेखि जीर्ण सो खडकखण्डअन्तर्गत आवश्यक कल्भर्ट, नाला निर्माणसहित कालोपत्रेका लागि २०६९ साल चैत १४ गते तत्कालीन भारतीय राजदूत जयन्त प्रसादले शिलान्यास गरेका थिए। भारतीय सरकारले नै आव्हान गरेको टेन्डर प्रक्रियाबाट छनोट भएको भारतीय निर्माण कम्पनी भिस्वा कन्सट्रक्सन दुई वर्षको अवधिमा पाँच प्रतिशत पनि काम नगरी बीचमै छाडेर हिँडेको थियो। पटक–पटक ठेक्का लाग्ने तर समयमै काम नहुने गरेका कारण १२ वर्षदेखि सर्वसाधारण धुलोबाट आजित बनिरहेका छन्।

प्रकाशित: ३१ वैशाख २०७६ ०१:२७ मंगलबार

गर्मी धुलो कुइरीमण्डल गाउँ