समाज

खेलकुदमा आवश्यकताअनुसार लगानी गर्न सक्ने अवस्था छैनः मन्त्री गुरुङ

हङकङमा आयोजित तेस्रो युथ एसियन स्पोर्टस्मा ३ हजार मिटर दौडमा स्वर्णपदक विजेता खेलाडी अजितकुमार यादवलाई पोखरामा सम्मान गरिँदै। तस्बिरः धन/नागरिक

पोखरा–सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न नसकेको गुनासो सर्वव्याप्त छ। गण्डकी प्रदेश सरकारले पनि खेलकुद क्षेत्रमा आवश्यकताअनुसार लगानी गर्न सक्ने अवस्था नरहेको उल्लेख गरेको छ। गण्डकी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी प्रदेश सरकारले आवश्यकताअनुसार लगानी गर्न नसक्ने भन्दै त्यसका लागि निजी क्षेत्र एवं उद्योगी व्यवसायीले बजेट छुट्टाउनुपर्नेमा जोड दिए।

भूतपूर्व खेलाडी मञ्च नेपालको शनिबार आयोजित १०औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले पछिल्लो समय पदक विजेता खेलाडीलाई दिइने सम्मान गर्ने नीति बनाउनुपर्नेमा जोड दिए। ‘ओलम्पिक, एसियन, साउथ एसियन र राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई दिइने सम्मानको खाका कोर्नुपर्छ,’ उनले भने, ‘त्यही खाकाअनुसार नै सम्मान गर्ने परिपाटी बसाल्नुपर्छ।’

‘पोखरा म्याराथनलाई अन्तर्राष्ट्रिय ब्रान्ड बनाउनुपर्छ। त्यसका लागि पोखरा महानगरपालिकाले इनिसेसन लिनुपर्छ,’ मन्त्री गुरुङले भने, ‘पुरस्कार राशिले बाह्य देशका खेलाडीलाई ल्याउन सहज हुन्छ। त्यहीअनुसार ब्राण्डिङ गर्नुपर्छ।’ उनले खेल क्षेत्र धेरै भएको भन्दै सानो बजेटले सबै खेलको विकास र विस्तार गर्न नसकिने स्पष्ट पारे। उनले भने, ‘बजेटको आकार सानो छ। तर खेल क्षेत्र धेरै छन्। विकास गर्छु भन्दा पनि सानो आकारको बजेटबाट सम्भव नै छैन।’

मन्त्री गुरुङले पदक ल्याउने खेललाई अध्ययन गरेर त्यसतर्फ मात्र खर्च गर्नुपर्ने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए। ‘हामीसँग भएका स्रोतसाधनलाई अधिकतम उपयोग गर्नुपर्छ,’ उनले गण्डकी प्रदेशले बहुउद्देश्यीय रंगशाला निर्माणको अभियान रहेको भन्दै स्पोर्टस् एकेडेमी आगामी लक्ष्य रहेको उल्लेख गरे। ‘बहुउद्देश्यीय रंगशाला निर्माण गर्नुपर्छ। त्यसको एक हिस्साको रूपमा स्पोर्टस एकेडेमी रहन्छ,’ मन्त्री गुरुङको भनाइ थियो।

मन्त्री गुरुङले पर्यटन प्रवर्धनको नाममा खेलकुद आयोजनाले खेल क्षेत्रको विकास नहुने स्पष्ट पारे। ‘टुरिजम विकासका लागि खेल खेल आयोजना गर्ने होइन, खेल र खेलाडीको विकासको लागि खेल नै आयोजना गर्नुपर्छ,’ उनले भने।

पोखराको ब्रान्डको रूपमा स्थापित गर्ने उद्देश्य राखिएको सफल पोखरा म्याराथनको पुरस्कार राशिमा वृद्धि गर्ने गृहकार्य गरिएको छ। दसौं वार्षिक साधारणसभामा शनिबार भूतपूर्व खेलाडी मञ्च नेपालका पदाधिकारी एवं गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको प्रमुख आतिथ्यता भएको कार्यक्रममा पोखरालाई ब्रान्ड बनाउन पोखरा म्याराथनको पुरस्कार राशि वृद्धि गर्नुपर्ने खाँचो औंल्याएका थिए।

‘पुरस्कार राशि पाँच लाख विजेतालाई दिने गरी छलफल गरेका छौं,’ भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेजबहादुर गुरुङले भने, ‘कुरा उठेको छ तर निर्णय भने भइसकेको छैन। पुरस्कार राशि वृद्धि गर्न सकिने सम्भावना भने छ।’

मन्त्री गुरुङका अनुसार सबैको सहयोग रहेमा पुरस्कार राशि पाँच लाख पु¥याउने सोचमा मञ्च पनि सकारात्मक छ। १४औं संस्करणको सफल पोखरा म्याराथनको खर्च ३० लाख अनुमान गरिएको छ। यसले पनि प्रस्ट छ अर्को संस्करणमा पुरस्कार राशि वृद्धि गरिनेछ। पुरस्कार बढाउने विषयमा छलफल गरी निर्णय उनले बताए।

१३औं संस्करणमा कुल खर्च केवल १२ लाख रुपैयाँ मात्र भएको थियो। ३१ लख रुपैयाँ संकलन भएको थियो। विभिन्न क्षेत्र व्यक्ति विशेष एवं विदेशमा रहेका नेपालीको सहयोगबाट मञ्चले १९ लाख रुपैयाँ बचत गरिएको छ। ‘अर्को वर्ष पुरस्कार राशि बढ्छ, पाँच लाख पु-याउन सकिन्छ,’ उनले भने, ‘पुरस्कार राशि वृद्धिले अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पुग्ने वातावरण बनाउनुपर्छ। त्यहीअनुसार अन्तर्राष्ट्रिय खेलाडीलाई पोखरा उतार्नुपर्छ।’

वार्षिक साधारणसभामा नेपाललाई पहिलो ऐतिहासिक स्वर्णपदक जिताएका सप्तरी राजविराजका युवा धावक अजितकुमार यादवलाई नगदसहित मञ्चले सम्मान गरेको छ। हङकङमा आयोजित तेस्रो युथ एसियन स्पोर्टस्मा तीन हजार मिटर दौडमा स्वर्णपदक जितेका यादवलाई मञ्चले दोसल्ला ओढाई नगद १० हजार हस्तान्तरण ग-यो। सोही अवसरमा यादवलाई मदन भण्डारी स्पोर्टस् एकेडेमीका गण्डकी इन्चार्ज राजेश गुरुङले नगद १० हजार रुपैयाँ प्रदान गरेका थिए।

प्रकाशित: २९ वैशाख २०७६ ०७:५७ आइतबार

खेलकुद गण्डकी_प्रदेश किरण_गुरुङ