समाज

दुर्घटनाका घाइतेलाई सहयोग

खोटाङ – मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका शीतल राईलाई शुभेच्छुकले आर्थिक सहयोग गरेका छन्। गत पुस १८ गते भएको दुर्घटनाका कारण टाउकाको खोपडी नै निकालिएका राईलाई सो नगरपालिका–१४ बुइपा घर भई हाल ललितपुर नखिपोट बस्दै आएकी सामाजिक अभियन्ता इनुमा राईको पहलमा संकलन भएको दुई लाख ५६ हजार ६ सय १५ रुपैयाँ प्रदान गरिएको हो।

श्रीमती र तीन छोरीसहित हाल उर्लाबारी बस्दै आएका राईको चोटका कारण टाउकाको दायाँ पाटोको खोपडी निकालिएको छ। उपचारका क्रममा निकालिएको टाउकाको खोपडी पुनः शल्यक्रिया गरेर राख्नुपर्ने भए पनि आर्थिक अवस्था नाजुक भएकाले सहयोग अभियान चलाइएको समाजसेवी इनुमाले बताइन्। खर्च अभावमा अस्पतालबाट निकालेर घरैमा राखिएका राईको उपचारका लागि इनुमाले ‘अहिले सहयोग नगरे कहिले गर्ने’ भन्ने नारासहित गत फागुनबाट सामाजिक सञ्जालमार्फत ‘शीतल राई उपचार सहयोग अभियान’ थालेकी थिइन्।

नेपाल, अमेरिका, यूके, यूएई, इजरायल, मलेसिया, कोरिया, जोर्डनलगायत देशमा रहेका नेपालीबाट संकलन गरिएको रकम अभियन्ता इनुमाले किरात राई यायोक्खा मोरङमा कार्यक्रम गरी आफन्त तथा पत्रकारको उपस्थितिमा घाइते परिवारलाई हस्तान्तरण गरेकी छन्। सहयोग अभियानमा खोटाङ घर भई हाल यूएईमा रहेका भगवती चाम्लिङ, हिरन राई, हिराधन चाम्लिङ, हाल मलेसियामा रहेका कृष्ण राई र इजरायलमा रहेका इन्द्र राईलगायतले साथ दिएको इनुमाले बताइन्।

प्रकाशित: २९ वैशाख २०७६ ०१:४९ आइतबार

दुर्घटना घाइते सहयोग