समाज

२४ बिघा सरकारी जग्गा व्यक्तिका नाममा

लहान - सिरहा नगरपालिका–२२ हकपाडास्थित सरकारी जग्गा नापी तथा मालपोतका कर्मचारीसँगको मिलेमतोमा स्थानीय रामदयाल महतोले निजी नम्बरी बनाएको पाइएको छ। तत्कालीन हकपारा गाविस–९, बठिंयास्थित सरकारको नाममा स्रेस्ता कायम रहेको कित्ता नम्बर ८१ को १४ कठ्ठा जग्गामा महतोले आफ्नो स्रेस्ता कायम गराएका हुन्।

नापी, मालपोतका अधिकारीलाई मिलाएर सरकारी जग्गा निजी बनाउने रामदयाल हाल जिल्ला अदालत सिरहाको आदेशमा पुर्पक्षका लागि सिरहा कारागारमा छन्। अदालतले महतोका छोेरासहित आरोपित अन्य पाँचलाई पक्राउ पर्न वारेन्ट जारी गरेको छ।

त्यस्तै बेलहा–९ स्थित एक बिघा १७ कठ्ठा साढे १२ धुर सरकारी जग्गा निजी बनाएर पटकपटक गरी पाँच पटक बेचेको पाइएको छ। सो जग्गा सिरहाकी महालक्ष्मी कर्णको नामबाट पटकपटक बिक्री भएको देखिन्छ। सो सरकारी जग्गा आफ्नो नाममा पार्ने महालक्ष्मीसहित नामसारी गर्ने मालपोत कार्यालय सिरहाका अधिकृतहरूमाथि समेत अख्तियारले अनुसन्धान सुरु गरेको छ।

मालपोत, नापीका अधिकारीसमेतको मिलोमतोमा भूमाफियाले सरकारी जग्गा निजी नम्बरी बनाएर बिक्री गरेको विषय पछिल्लो समय गाउँदेखि सहरसम्म एकपछि अर्को गर्दै उजागर भइरहेको छ। काठमाडौं नक्सालका प्रकाशजंग थापा क्षेत्रीले २०२१ सालमा लागू भएको भूमिसुधारबाट बच्न आफ्नो घरकी कामदार मायादेवी थापालाई छोरी बनाएर सिरहा सोनमती मझौरा गाविस–८ (हाल लहान नगरपालिका–१९) स्थित २१ बिघा जग्गा (७७ कित्ता) पास गरिदिए। २०३३ सालमा मायादेवीको मृत्यु भयो । त्यसपछि सो जग्गा जिल्ला प्रशासन कार्यालयबाट आवश्यक कानुनी प्रक्रिया पूरा गरी १३ पुस २०५७ मा तत्कालीन श्री ५ को सरकारको नाममा अपुताली कायम गरियो । सरकारको नाममा अपुताली कायम भएपछि भने त्यो जग्गामा आफ्नो हक दाबी गर्न पाँचजना ‘मायादेवी’ खडा भए ।

सरकारको नाममा अपुताली कायम गर्ने जिल्ला प्रशासन कार्यालय सिरहा, मालपोत कार्यालय लहान, भूमिसुधार तथा मालपोत कार्यालय सिरहा, लहान नगरपालिका–१९, वडा कार्यालय लहान, नापी कार्यालय लहानलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट प¥यो । २०६१ पुस २० र २०६६ भदौ ४ गतेको सर्वोच्चको उत्प्रेषण आदेशअनुरूप प्रशासन कार्यालयको १३ पुस २०५७ को निर्णय बदर गर्न पाँच जना ‘मायादेवी’ ले आफू जग्गाधनी भएको माग दाबीसहित मुद्दा हाले।

नागरिकता नम्बर २९१७३६७८ की मायादेवी हमाल, २५२ की मायादेवी थापा क्षेत्रिनी, ७०४१ की मायादेवी थापा क्षेत्रिनी, १६६९९ की मायादेवी थापा र २७१०६०÷११२३१६ को अशोकजंग थापा क्षेत्री समेतले जग्गा आफ्नो भएको दाबी गरेका थिए । तर मायादेवीको नाममा जारी भएको नागरिकता, नाता प्रमाणित तथा मृत्यु दर्ताको प्रमाणपत्र समेत किर्ते रहेको पुष्टि भयो । नेपाल सरकार (मन्त्रिपरिषद्) को अनुमतिबमोजिम २०७५ माघ २९ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट जारी नेपाली नागरिकताको प्रमाण पत्र रद्द गरिएको थियो । अन्ततः कित्ता नम्बर पाँचदेखि ४१८ (विभिन्न ७७ कित्ता) को २० बिघा १९ कठ्ठा आधा धुर जग्गा २०७५ फागुन ५ मा नेपाल सरकारको नाममा अपुताली कायम भएको थियो । गलत प्रमाण पेश गर्दै र नाता–सम्बन्ध कायम गरी हड्पेको सरकारी जग्गा १८ वर्षपछि सरकारको नाममा कायम भएको थियो।

चकित पार्ने हकदाबी
जिल्ला प्रशासन कार्यालय सिरहाले २०३३ सालमा मायादेवी क्षेत्री ‘मरेको भन्ने बुझिएको’ र ‘नामसारी गर्न पनि कोही नआएको’ भन्दै २०५७ पुस १३ उनको नामको जग्गा सरकारको नाममा आएको निर्णय गरेको थियो। मायादेवी क्षेत्रीको मृत्यु भएको, कोही हकदार नभएको, निजका नाउँमा भएको सिरहा सोनमती मझौरा–८ मा पर्ने कित्ता नम्बर ५ समेतका ७७ कित्ता जग्गा सरकारको नाममा कायम गरिदिने गरी भएको निर्णय बदर गरी पाउँ भनी २०५९ भदौ २८ गते वारेश भोला साहु तेलीमार्फत जिल्ला प्रशासन कार्यालय सिरहामा फिराद–पत्र पेस भयो।

तर तेलीमार्फत आएको फिराद–पत्र प्रशासनले लिन मानेन। त्यसपछि मायादेवीको हक खाने रामबहादुर लामाले २०६० असार १ गते पुनरावेदन अदालत, राजविराजमा फिराद–पत्र दर्ताका लागि अन्तरिम आदेश जारी गरी पाऊँ भनी निवेदन दिए। २०६० माघ ९ गते फिराद–पत्र दर्ता गरिदिनू भन्ने अदालतको आदेशबमोजिम काठमाडौं महानगरपालिका–१ नक्साल बस्ने ७६ वर्षीया मायादेवी थापा क्षेत्रीको हकखाने रामबहादुर लामाको फिराद–पत्र दर्ता भई विचाराधीन रह्यो।

हकदावी गर्ने मायादेवीसहितकाहरू थिए मायादेवी हमाल, मायादेवी थापा क्षेत्रीनीद्वय र मायादेवी थापा क्षेत्री गरी चारजना। पछि त्यो जग्गामा हकदाबी गर्न काठमाडौं महानगरपालिका–१ नक्सालका अशोकजंग थापा क्षेत्री पनि अगाडि सरे।

मायादेवी हमालबाहेक सबैले जिल्ला प्रशासन कार्यालयमा हकदाबी पेस गरेका थिए। तीमध्ये कोहीले आफू स्वयम जग्गाधनी भएको दाबी गरेका थिए भने कसैले करार सम्झौता, दाताको मृत्युपछिको अधिकृत वारेसनामा त कोहीले शेषपछिको बकसपत्र पेश गरेका थिए।

रिटको सुनुवाई गर्दै सर्वोच्चले २०६१ मंसिर २० र २०६६ भदौ ब्ल्म्एभ्च्४४लदकउसगरी गरी दुई पटक मायादेवी मरेको हो, होइन ? वास्तविक हकदार को हो ? बुझेर निर्णय गर्नू भनी सिरहा जिल्ला प्रशासनलाई उत्प्रेषणको आदेश दिएको थियो। साथै, जग्गा सरकारको नाममा हुने भनी तत्कालीन प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले गरेको निर्णयलाई खारेज पनि गरिदियो।

किर्तेको काठमाडौं कनेक्सन

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ‘मायादेवी थापा क्षेत्री’को नाममा २०५९ असार ७ मा नागरिकता जारी भएको देखिन्छ। जारी नागरिकता नम्बर १६६९९ मा उनको बुबाको नाम प्रकाशजंग थापा क्षेत्री उल्लेख छ। जिल्ला प्रशासन कार्यालय सिरहाले मायादेवी क्षेत्रीको फर्जी (नक्कली) नाता सम्बन्धको प्रश्न उठाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्यसबारे छानबिन र आवश्यक निर्णयका लागि २०७५ माघ २५ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई नागरिकता छानबिन गर्न भन्यो।

त्यसपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले मायादेवी क्षेत्रीको नाममा २०५९ असार ७ मा जारी नागरिकता झुट्टा विवरणको आधारमा जारी भएको ठहरसहित २०७५ माघ २९ मा खारेज गरिदियो। सो नागरिकतामा नक्कली नाता–सम्बन्ध खडा गरिएको भनी उजुरीसमेत परेको थियो। तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले २०७२ फागुन १९ मा सो नागरिकता सदर गरिदिएको बुझिएको छ। त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अर्को उजुरी परेको थियो। मन्त्रिपरिषद्ले २०७४ असोज २३ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट मायादेवी क्षेत्रीको नाममा जारी नागरिकता ठीक छ भनेर सदर गरिदियो।

सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार ठूलो गिरोहबाट भएको यो किर्ते कार्यमा संलग्नउपर कारबाहीका लागि अख्तियारले थप अनुसन्धानसहित कारबाही अघि बढाएको छ। ‘यस किर्ते कार्यका मुख्य नाइके नक्कली मायादेवीका धर्मपुत्र रामबहादुर लामा भएको अनुसन्धानबाट देखिएको छ,’ पण्डितले भने।

प्रकाशित: २९ वैशाख २०७६ ००:५० आइतबार

सिरहा_नगरपालिका सरकारी_जग्गा नापी_तथा_मालपोत जिल्ला_अदालत_सिरहा