समाज

भक्तपुर चेम्बरमा न्हुछेरत्न चुनिए

भक्तपुर - चेम्बर अफ कमर्स भक्तपुरको अध्यक्षमा न्हुछेरत्न मानन्धर चुनिएका छन्। मानन्धरको नेतृत्वमा ९ सदस्यीय समिति गठन भएको हो। शनिबार भक्तपुरमा गरिएको पदस्थापना तथा शुभकामना आदानप्रदान कार्यक्रममा नवगठित समितिका पदाधिकारीहरुको नामावली सार्वजनिक गरिएको हो।

नयाँ समितिमा कविदास धौबजी श्रेष्ठ उपाध्यक्ष, सुरेन्द्र श्रेष्ठ सचिव, जगतबहादुर श्रेष्ठ कोषाध्यक्ष तथा सदस्यहरुमा चन्द्रभक्त श्रेष्ठ, अष्टबज्र बज्राचार्य, लक्ष्मीबहादुर श्रेष्ठ, रामगोपाल सुवाल र राध्ये सैंजु छन्।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका कार्यबहाक अध्यक्ष राजेन्द्र मल्लले ठूला उद्योगदेखि रैथाने परम्परागत पेसा व्यवसाय गर्नेहरुलाई चेम्बरले सघाउने बताए। भक्तपुरको हस्तकला, कृषि, घरेलु उद्योगलगायत उत्पादन हुने उपजलाई राष्ट्रिय तथा तथा अन्तर्राष्टिय बजारीकरण गर्नुपर्ने बताउँदै नवगठित भक्तपुर चेम्बरलाई यसतर्फ ध्यान केन्द्रित गर्न उनले अनुरोध गरे।

भक्तपुर चेम्बर अफ कमर्शका नवनिर्वाचित अध्यक्ष मानन्धरले आफ्नो कार्यकालमा तीन चरणमा भक्तपुरको औद्योगिक विकास, व्यवसाय प्रबर्द्धन तथा व्यवसायीको क्षमता विकास गराउने प्रतिबद्धता जनाए। व्यवसायीले आआफ्नो व्यवसाय मात्र गरेर नपुग्ने बताउँदै कर तथा हिसाबकिताबको ज्ञान अनिवार्य हुनुपर्ने उनले बताए।

प्रकाशित: २८ वैशाख २०७६ ११:३७ शनिबार

चेम्बर_अफ_कमर्स न्हुछेरत्न_मानन्धर व्यवसाय_प्रबर्द्धन