समाज

आवास पुनर्निर्माण सर्वेक्षण सुरु

खोटाङ – खोटाङमा भूकम्पीय आवास अनुदान लिनबाट वञ्चित क्षतिग्रस्त घरको पुनः सर्वेक्षण तथा पुनः जाँचको काम सुरु भएको छ। २०७२ साल वैशाख १२ गतेको महाभूकम्प र परकम्पका कारण घरमा क्षति पुगे पनि निजी आवास अनुदान लिन छुट भएका पीडितको क्षतिग्रस्त घरको पुनः सर्वेक्षण तथा पुनः जाँचको काम थालिएको हो।

जिल्लाका ७९ वडा कार्यालयमा प्राप्त गुनासोका आधारमा क्षतिग्रस्त घरको पुनः सर्वेक्षण तथा पुनः जाँचका लागि वैशाख २० गतेदेखि जिल्लाका १० वटै स्थानीय तहमा प्राविधिक खटाइएको जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) को कार्यालय खोटाङका प्रमुख सागर आचार्यले बताए। भूकम्पले क्षति पु¥याएको घरको निजी आवास अनुदान लिनबाट छुट भएका वास्तविक पीडितको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गुनासोकर्ताको निवेदनलाई वडाको सिफारिसका आधारमा क्षतिग्रस्त घरसम्म पुगेर पुनः सर्वेक्षण तथा पुनः जाँचको कार्यक्रम सुरु गरेको हो।

भूकम्प गएको चार वर्ष बित्दासमेत वास्तविक भूकम्प पीडितले लाभग्राहीको सूचीमा छुटेको, लाभग्राहीको सूचीमा नपारेको, घर पास नगरिदिएका लगायतका गुनासो आइरहेका बेला पुनः सर्वेक्षण तथा पुनः जाँचको कार्यक्रम सुरु गरिएको प्राधिकरणले जनाएको छ।

तीन हजार पाँच सय घर बने
खोटाङमा भूकम्पका लाभग्राहीमध्ये करिब दुई हजार पाँच सय र प्राधिकरण गठनअघि निर्माण भएका करिब एक हजार गरी हालसम्म तीन हजार पाँच सय आवास निर्माणको काम पूरा भएको प्रमुख आचार्यले बताए। ‘जिल्लामा पहिल्यै करिब हजार घर बनिसकेको तथ्यांक छ। पुनः निर्माणको काम सुरु भएपछि करिब दुई हजार पाँच सय घर बनेका छन्,’ आचार्यले भने, ‘यो महिनाभित्र तीन हजार पाँच सयभन्दा बढी आवास निर्माण हुनेछन्।’ खोटाङका भूकम्पका कूल लाभग्राही ८ हजार ४ सय ४३ मध्ये गत मंसिर २१ गतेसम्ममा ८ हजारभन्दा बढी लाभग्राहीले सम्झौता गरेको कार्यालयले जनाएको छ। त्यसमध्ये ८ हजारभन्दा बढी लाभग्राहीले प्रथम किस्ता, ५ हजार बढी लाभग्राहीले दोस्रो र करिब २ हजार ५ सय लाभग्राहीले तेस्रो किस्ता बुझिसकेका छन्। २०७४ साल जेठ १९ गतेदेखि पहिलो किस्ता र २०७५ साल वैशाख ३० गतेदेखि दोस्रो किस्ता वितरण थालेको प्राधिकरणले असोजदेखि तेस्रो किस्ता वितरण थालेको हो। भूकम्पका कारण खोटाङमा १३ हजार ७९ सय ९ घरमा क्षती पुगेको तथ्यांक थियो।

प्रकाशित: २८ वैशाख २०७६ ०२:३७ शनिबार

भूकम्प अनुदान क्षतिग्रस्त आवास_पुनर्निर्माण