समाज

जग्गा विषयलाई लिएर दुईपक्षबीच कुटाकुट, तीन घाइते, चार पक्राउ

उदयपुर - उदयपुरमा जग्गा किचलोमा झगडा हुँदा ३ जना घाइते भएका छन् भने ४ पक्राउ परेका छन्। त्रियुगा नगपालिका २ जोगीदहस्थित घुरन चौधरीको जग्गा त्रियुगा ११ गाईघाटका सन्तोष साहले मिचेको भन्दै विवाद भएको थियो।

बिहीबार राति भएको झगडामा सन्तोषका दाजु अशोक साह र उनीसँगै गएका त्रिनपा ११ गाईघाटकै प्रकाश काप्mले र जितेन्द्र साह घाइते भएका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

घाइतेमध्ये अशोकको नाक भाँचिएको छ भने अन्य दुईको शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीहरुको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक अम्मरप्रसाद जगमेरले बताए। उनका अनुसार शुक्रबार अशोकको नाकको शल्यक्रिया गरिएको छ भने अन्य घाइतेहरुको पनि स्वास्थ्य अवस्था सुधारोन्मुख छ।

घटनामा संलग्न भएको आरोपमा जग्गाधनी घुरन चौधरी, हरेराम चौधरी, जमिन मिचेको आरोपमा सन्तोष र उनको सुनचाँदी पसलमा काम गर्ने कालीगढ मंगल विकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको गजमेरले बताए। 

जग्गा मिचेर सन्तोषले बनाएको पोखरी पुरेको आरोपमा घुरनलाई बिहीबार दिउँसै पक्राउ गरिएको छ भने अरुको जग्गा मिचेको आरोपमा सन्तोषलाई र कालीगढ विकलाई पोखरीमा विष हालेको आरोपमा शुक्रबार दिउँसो पक्राउ गरिएको गजमेरले बताए।

प्रकाशित: २७ वैशाख २०७६ १५:०९ शुक्रबार

जग्गा_विवाद