समाज

ढिलासुस्तीविरुद्ध स्थानीय आन्दोलित

विराटनगरस्थित मुनालपथमा सडक अवरुद्ध गर्दै आन्दोलित बनेका स्थानीय। तस्बिरः चुमन बस्नेत/नागरिक

विराटनगर– रानी–धरान छ लेन सडकअन्तर्गत विराटनगरको वरगाछी–रोडशेष सडक खण्डको काम चाँडो सक्न माग राख्दै विराटनगरको मुनालपथमा स्थानीयले सडक अवरुद्ध पारेका छन्। सडक निर्माणमा हदैसम्मको ढिलासुस्ती भएपछि हिलो र धूलोले हैरान भएका स्थानीयले बिहीबार बिहान सडक अवरुद्ध पारेका हुन्।

निर्माण सुरु भएको चार वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुने अवस्था नदेखेका स्थानीयले सडक निर्माण चाँडो सम्पन्न गर्न माग राख्दै आन्दोलनमै उत्रन बाध्य भएको बताए। उनीहरूले छ लेन सडक निर्माणको काम अन्य स्थानमा छिटै भए पनि विराटनगरको मुख्य बजार क्षेत्रमा निर्माण कम्पनीले ढिलासुस्ती गरिरहेको आरोप लगाएका छन्।

यो खण्ड निर्माणको जिम्मा पाएको निर्माण कम्पनी र व्यापारिक मार्ग विस्तार आयोजनाले कामलाई जिम्मेवारीपूर्वक नलिएकै कारण निर्माणमा ढिलाइ भइरहेको स्थानीय सन्तोष न्यौपाने बताउँछन्। ‘अरु ठाउँमा काम छिटो हुने विराटनगरमा चाहिँ ढिलाइ हुने कुनै कारण छैन’, उनले भने, ‘ठेकेदार र कर्मचारीकै मिलेमतोमा निर्माण ढिलाइ भइरहेको छ।’

सर्वपक्षीय छलफलमा निर्माणको जिम्मा पाएको भूमि कन्स्ट्रक्सनले जेठ १८ गतेभित्र वरगाछीदेखि एसलाल पेट्रोल पम्पसम्मको सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता


बिहीबार बिहान आन्दोलित स्थानीयले विराटनगरस्थित मुनालपथमा करिब १ घण्टा सडक अवरुद्ध पारेका थिए। स्थानीयले मुख्य राजमार्ग अवरुद्ध पारेपछि सडक खुलाउन आएको प्रहरी र स्थानीयबीच केहीबेर घम्साघम्सीसमेत भएको थियो। स्थानीयले २४ घण्टाभित्र समस्या समाधान गर्न अल्टिमेटम दिँदै आन्दोलत स्थगित गरेका थिए।

बिहीबार दिउँसो आन्दोलित स्थानीय, स्थानीय जनप्रतिनिधि, सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका प्रतिनिधिबीच छलफल भएको थियो। स्थानीय राजेन्द्रप्रसाद रिजालका अनुसार सर्वपक्षीय छलफलमा निर्माणको जिम्मा पाएको भूमि कन्स्ट्रक्सनले जेठ १८ गतेभित्र वरगाछीदेखि एसलाल पेट्रोल पम्पसम्मको सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।

‘मोरङका प्रमुख जिल्ला अधिकारी, स्थानीय जनप्रतिनिधिको रोहवरमा निर्माण कम्पनीले जेठ १५ भित्रै काम सम्पन्न गर्नेलगायतका ५ बु“दे प्रतिबद्धता जनाएको छ’ रिजालले भने। उनका अनुसार जेठ १५ भित्र नाला र पिचको काम सम्पन्न गर्ने, निर्माण अवधिभर धूलो नियन्त्रण गर्न सडकमा पानी छर्कने, निर्माणका क्रममा समस्या देखिए छ लेन सडक निर्माण आयोजनाले जिम्मेवारपूर्वक समाधान गर्ने र जिल्ला प्रशासन कार्यालयको अगुवाइमा नियमित अनुगमन गर्ने सहमति भएको छ।

छलफलमा ठेकेदार कम्पनीका तर्फबाट कृष्ण बोहोरा, व्यापारिक मार्ग विस्तार आयोजनाका तर्फबाट इन्जिनियर आनन्द मोहन ठाकुर, नेपाल विद्युत् प्राधिकरणका इन्जिनियर रवीन्द्रकुमार दास, वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेल र आन्दोलनमा उत्रिएका स्थानीय सहभागी भएका थिए।

प्रकाशित: २७ वैशाख २०७६ ०५:५७ शुक्रबार

रानी–धरान सडक_अवरुद्ध