समाज

विद्युत् नियमन आयोगमा अध्यक्षसहित चार सदस्य नियुक्त

काठमाडाैं- सरकारले ऊर्जा क्षेत्रको नियमन निकायका रुपमा रहेको विद्युत् नियमन आयोगलाई पूर्णता दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगका अध्यक्ष र चार सदस्यको नियुक्ति गरेको हो। आयोगको अध्यक्षमा दिल्लीबहादुर सिंह नियुक्त भएका छन्। सिंह विद्युत् विकास विभागको पूर्वमहानिर्देशक छन्। त्यसैगरी सदस्यमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक रामप्रसाद धिताल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक रामेश्वरप्रसाद कलवार, रामकृष्ण खतिवडा र भगीरथी भट्टराई ज्ञवाली नियुक्त भएका छन्।

आयोगका नवनियुक्त पदाधिकारीले आजै पद तथा गोपनियताको शपथ गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री वर्षमान पुनले आयोगका नवनियुक्त अध्यक्ष सिंहलाई शपथ गराए। त्यसैगरी अध्यक्ष सिंहले आयोगका नवनियुक्त सदस्य धिताल, कलवार, खतिवडा र भट्टराई (ज्ञवाली)लाई पद तथा गोपनियताको शपथ गराएका थिए। आयोगका नवनियुक्त पदाधिकारीले बिहीबार पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । नवनियुक्त अध्यक्ष सिंहले पदाधिकारीको अनुभव, क्षमता र विशेषज्ञताका आधारमा कामको बाँडफाँड गरी प्रभावकारी कार्यसम्पादन गरिने बताए।

सरकारले समग्र ऊर्जा क्षेत्रलाई व्यस्थित बनाउन २०७४ भदौ १९ गते ‘विद्युत् नियमन आयोग ऐन, २०७४’ जारी गरेको थियो। आयोगले विद्युत्को उत्पादन, प्रसारण, वितरण वा व्यापार सम्बन्धमा नियमन गर्न प्राविधिक व्यवस्थापन गर्ने, महसुल निर्धारण गर्ने तथा विद्युत् खरीद बिक्रीको नियमन गर्ने, उत्पादकबीच प्रतिस्पर्धा कायम गरी उपभोक्ताको हित संरक्षण गर्ने, ऊर्जा क्षेत्रसँग सम्बन्धित नियकाबीच आएका विवाद समाधान गर्नेलगायत काम गर्नेछ। आयोगका अध्यक्ष तथा सदस्यको पदावधि पाँच वर्षको रहेको छ । रासस

प्रकाशित: २५ वैशाख २०७६ १३:२४ बुधबार

मन्त्रिपरिषद्को_बैठक ऊर्जा_क्षेत्र