समाज

गाउँपालिकाका सहायक लेखापालको शव फेला

परशुरामधाम- महाकाली नदीमा डुबेर बेपत्ता भएका भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्बर पालको शव भेटिएको छ। शनिबार महाकालीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका २५ वर्षीय पालको आज शव फेला परेको हो।

परशुराम नगरपालिका–५ परशुरामधामदेखि  तीन किलोमिटर टाढा कल्पटेखानमा भारतीय क्षेत्रमा महाकाली किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले जानकारी दिए। स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

पालका घरपरिवारले शव उनकै भएको पुष्टि गरेपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग समन्वय गरेर शव नदीबाट निकालिएको हो। जोगबुडा अस्पतालमा शव परीक्षणपछि परिवारलाई बुझाएको पाण्डेले बताए। शनिबार गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी भागेश्वर गाउँपालिका–१ रुपालस्थित महाकाली किनारमा वनभोज खान गएका बेला नुहाउने क्रममा पाल बेपत्ता भएका थिए। रासस

प्रकाशित: २५ वैशाख २०७६ १३:१५ बुधबार

भागेश्वर_गाउँपालिका सहायक_लेखापाल_डम्बर_पाल शव महाकाली_नदी