समाज

सुविधाको चामल लिने बढ्दै

जुम्ला- पातारासी गाउँपालिकाकी संगिता बोहोरा आफ्नो बच्चा जन्मेको पाँच महिना पछि खाद्य संस्थान कार्यालयमा जन्ममा दिने २० केजी चामल लिन आईपुगिन्। बच्चा जन्मँदा सरकारले २० केजी चामल दिने गरेको थाहा नपाएकी उनले भनिन्,‘जन्मदर्ता गर्न जाँदा खाद्य संस्थानमा २० केजी चामल पाईन्छ भन्ने सुनेपछि खाद्य संस्थान आईपुगेको हुँ।' उनले २० केजी चामल र ढुवानी स्वरुप ५ सय रुपैयाँ पाईन्। ‘बच्चा गत मंसिर २५ गते जन्मिसकेको थियो, उनले भनिन्,’‘धेरै ढिलो जानकारी हासिल भएपछि मात्र चामल लिन पाए।' सरकारले तत्कालिन कर्णालीलाई लक्षित गर्दै जन्म र मृत्युमा २० केजी चामल दिने निर्णयले निकै राहत मिलेको सुनाईन्। 

जुम्ला चन्दननाथकी देबु नेपाली कर्णालीका नागरिकलाई लक्षित गर्दै जन्म र मृत्युमा २० केजी दिने सरकारी निर्णय निकै जनमुखी भएको बताउँछिन्। उनले भनिन्,‘पहिले २० केजी मात्रै चामल दिने कुरा सुन्दा निकै रिस उठेको थियो, तर अहिले बुझ्दै जाँदा गरिब विपन्न नागरिकका लागि निकै लाभदायिक हुन पुग्यो।’

सरकारले दुई बर्ष अघि कर्णालीमा जन्म र मृत्युमा प्रत्येक ब्यक्तिलाई २० केजी चामल उपलव्ध गराउने कार्यक्रम शुरु गरेको थियो। चन्दननाथ नगरपालिकाका दत्त दमाई जन्मदा खुसीयाली बाड्ने र मर्दा काजक्रिया गर्ने चामल नहुँदा निकै समस्या हुने गरेको अनुभव सुनाउँछन्। उनले भने,‘यो कार्यक्रमले अहिले प्रभावकारी बनेको छ। गरिब तथा विपन्न नागरिकको असल साथी बनेको छ।’

गत आर्थिक बर्ष भन्दा यो बर्ष जन्मदा र मृत्यु हुँदा चामल लिनेको संख्यामा बृद्धि भएको छ। चालु आर्थिक बर्षको हाल सम्म २ सय ७९ जनाले चामल लिएको खाद्य संस्थान जुम्लाका निमित्त प्रमुख सञ्जय तिमलसेनाले जानकारी दिए। उनले भने,‘चामलसंगै ढुवानी पनि दिने भएकोले यो चामल लिनेको संख्या ह्वात्तै बढेको हो।’

यो चामल लिन बच्चा स्वास्थ्य संस्थामा जन्मेको हुनुपर्छ। जन्मदर्ता अनिवार्य गरेको र वडा कार्यालयको सिफारीस समावेश गरिएको हुनुपर्छ। चामल लिन आउनेको नागरिकताको प्रमाणपत्र प्रतिलिपि ल्याएको खण्डमा मात्रै जन्म र मृत्युमा दिने निशुल्क चामल उपलव्ध गराउने प्राव्धान छ। चन्दननाथ नगरपालिका क्षेत्रका बासिन्दालाई मृत्यु र जन्ममा दिईने २० केजी चामल उपलव्ध गराईन्छ। नगरपालिका आसपासका पातारासी, गुठिचौर र तातोपानी गाउँपालिकाका नागरिकलाई २० केजी चामल र ५ सय रुपैया ढुवानीको लागि दिईने गरिएको छ। त्यो भन्दा दुर्गम तिला, हिमा, सिजा र कनकासुन्दरी गाउँपालिका भित्रका बासिन्दालाई २० केजी चामल र एक हजार रुपैया उपलव्ध गराउदै आएकोले निमित्त प्रमुख तिमलसेना बताउँछन्। मृत्यु भएको हकमा मृत्यु दर्ता गरेको प्रमाण पत्र, वडा कार्यालयको सिफारीस र सम्वन्धीत मान्छेको नागरिकता चाहिन्छ। महिनामा ३० देखि ३५ जना सम्मले चामल लिन्छन्।

चामल लिनको लागि सदरमुकाम खलंगामै पुग्नु पर्ने भएकोले समस्या आएको स्थानीय बताउँछन्। जिल्लामा धापा र जुम्लाकोटमा डिपो छन्। तर त्यहाँ चामल आउँदैन्। सदरमुकाम आउनु भन्दा गाउँका डिपोमै चामल लैजाने बातावरण निर्माणका लागि पहल थालिदिन आग्रह स्थानीयको छ।

प्रकाशित: २५ वैशाख २०७६ ११:४९ बुधबार

चामल कर्णाली सुविधा