समाज

सार्वजनिक खरिद ऐन संशोधन तयारी

काठमाडौं– सरकारले सार्वजनिक खरिद ऐन संशोधन गर्ने तयारी गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन्। खतिवडाले विकास, निर्माणको कामलाई तीव्रता दिने गरी सार्वजनिक खरिद ऐन संशोधनको तयारीको कामलाई अघि बढाइएको जानकारी दिनु भएको हो। बुधबार संघीय संसद अर्थ समितिको बैठकमा बोल्दै उनले चालू वर्षे अधिवेशनभित्रै सार्वजनिक खरिद ऐन संशोधन विधेयक पारित गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। 

सरकारले सार्वजनिक खरिदका लागि आवश्यक नियमावली भने मन्त्रीपरिषदबाट पारित गरिसकेको छ। अर्थमन्त्री खतिवडाले सो नियमावलीमा आयोजना लिने तर काम नगर्ने ठेकेदार कम्पनीमाथि कडा कार्वाही गर्ने व्यवस्था पनि गरिएको समितिलाई जानकारी गराए।

तत्काल ऐन संशोधन गरौं–सुरेन्द्र पाण्डे
बैठकमा समितिका सदस्यहरुले तत्काल सार्वजनिक खरिद ऐन संशोधन गर्न सरकारसँग माग गरेका थिए। समितिका सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले एउटै आयोजना वर्षौसम्म पूरा नहुने अवस्थाको अन्त्य गर्न पनि सार्वजनिक खरिद ऐन संशोधन गर्नुको विकल्प नरहेको पनि स्पष्ट पारे। उनले सार्वजनिक खरिद ऐन संशोधन गरी आयोजनाकोहरुको काममा तीव्रता दिन पनि सरकारलाई सचेत गराए।

नीति तथा कार्यक्रममा भट्टराईको असन्तुष्टि
समितिका अर्का सदस्य डा. बाबुराम भट्टराईले आर्थिक वृद्धिलाई जोड दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिए। उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले आर्थिक भन्दा पनि राजनीतिक पक्षलाई जोड दिएकोमा असन्तुष्टि पनि व्यक्त गरे। पूर्वप्रधानमन्त्री र पूर्व अर्थमन्त्रीसमेत रहेका भट्टराईले दीगो विकास लक्ष्य हासिल हुने गरी बजेट ल्याउन पनि सरकारसँग आग्रह गरे।

बैठकमा अर्थ समितिले विभिन्न उपसमिति बनाएर देशका मुख्यमुख्य सहरमा अन्तरक्रिया गरी तयार पारेको बजेटसम्बन्धि सुझाव पनि अर्थमन्त्री खतिवडालाई बुझाइएको थियो।

प्रकाशित: २५ वैशाख २०७६ ०८:०५ बुधबार

सार्वजनिक_खरिद_ऐन अर्थमन्त्री_डा._युवराज_खतिवडा डा._बाबुराम_भट्टराई सुरेन्द्र_पाण्डे