समाज

नगरपालिकाद्वारा स्थायी शिक्षक स्वीकार

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले जिल्ला शिक्षा समन्वय एकाइको कार्यालयले नियुक्ति दिएर पठाएका स्थायी शिक्षक स्वीकार गरेको छ। सुरुमा शिक्षा समन्वय एकाइले समन्वय नगरी स्थायी शिक्षक पठाएको भन्दै अस्वीकार गर्ने निर्णय गरेको नगरपालिका आफ्नो निर्णयमा लचिलो बनेको हो।

शिक्षक सेवा आयोग उत्तीर्ण गरी समन्वय एकाइमार्फत पठाइएका शिक्षकलाई सम्बन्धित विद्यालयमै हाजिर गराउने अर्को निर्णय गरिएको सो नगरपालिकाका मेयर इवन राईले बताए। आयोग उत्तीर्ण गरेका शिक्षकलाई शिक्षा समन्वय एकाइको कार्यालयले जानकारी नदिई र समन्वय नगरी नगरपालिकाका विभिन्न विद्यालयमा पठाएको भन्दै नगर शिक्षा समितिको गत वैशाख १२ गतेको बैठकले त्यस्ता शिक्षकको नियुक्तिलाई बदर गर्ने निर्णय गरेको थियो। नगरपालिका र नेपाल शिक्षक महासंघलगायत पेसागत संगठनबीच छलफलपछि शिक्षक नियुक्तिलाई यथावत कायम गर्ने निर्णय गरिएको हो।

शिक्षकको सरुवा बदर
हलेसी तुवाचुङ नगरपालिकाले शिक्षक सेवा आयोग पास गरी दाम्ली मावि डिकुवा सरुवा लिएका वरगाछी प्रावि बलुईका शिक्षक तीर्थ खड्कालाई भने वरगाछी प्राविमै राख्ने निर्णय गरेको छ। कार्यरत शिक्षक खड्काले आन्तरिक आयोगमार्फत स्थायीमा नाम निकालेर घरपायक रहेको दाम्ली माविमा सरुवा लिएपछि वरगाछी प्राविमा एकजना बाल विकास शिक्षक, एकजना अनुदान कोटाका शिक्षक र एकजना कर्मचारी मात्र बाँकी रहेकाले उनलाई यथास्थानमै राख्ने निर्णय गरिएको मेयर राईले बताए। वरगाछी प्रावि बलुई चैतदेखि शिक्षकविहीन बनेको छ।

यस्तै, कार्यरत शिक्षक भूपमनि राईले गोल्डेन हेनसेकमा गत चैत ३ गतेदेखि स्वतः अवकाश पाएपछि शिक्षकविहीन बनेको डिकुवाकै डिकुवा आधारभूत विद्यालयका शिक्षक प्रमेश राईलाई कामकाजका लागि जिम्मेवारी दिइएको नगरपालिकाले जनाएको छ। त्यस्तै कार्यरत एकजना मात्र अस्थायी शिक्षक कवीन्द्र राई गोल्डेन हेनसेकमा निस्किएपछि राजापानीस्थित जालन्धार प्राविको कामकाज गर्न महंकला प्राविका शिक्षक लक्ष्मण कार्कीलाई जिम्मेवारी दिइएको छ।

प्रकाशित: २५ वैशाख २०७६ ०१:३८ बुधबार

हलेसी_तुवाचुङ_नगरपालिका शिक्षा_समन्वय_एकाइ स्थायी_शिक्षक