समाज

किरात विद्यार्थीलाई सहयोग

खोटाङ – नवौं राष्ट्रिय महाधिवेशनमा जुटेको किरात राई विद्यार्थी संघ केन्द्रीय समितिलाई नेपाल विद्यार्थी संघ खोटाङले सहयोग रकम संकलन गरेर हस्तान्तरण गरेको छ। आगामी वैशाख २६ गतेदेखि तीन दिन दिक्तेलमा हुने किरात राई विद्यार्थी संघको राष्ट्रिय सम्मेलन सफल बनाउन नेविसंघले सहयोग रकम संकलन गरेर हस्तान्तरण गरेको हो।

फरक विद्यार्थी संघ भए पनि मित्रशक्तिप्रतिको सद्भाव र सौहार्दताका लागि ४८ हजार एक सय ७७ रुपैयाँ रकम संकलन गरेर किरात राई विद्यार्थी संघलाई प्रदान गरिएको नेविसंघ खोटाङका सभापति राजकुमार बस्नेतले बताए। विभिन्न ५२ दाताबाट संकलन गरिएको रकम आइतबार साँझ सगरमाथा होटलमा आयोजित कार्यक्रममा कांग्रेस जिल्ला सभापति नरेशकुमार श्रेष्ठले किरात राई विद्यार्थी संघ केन्द्रीय समिति अध्यक्ष बिर्सिका राईलाई हस्तान्तरण गरेका छन्।

फरक संगठन भए पनि शैक्षिक अधिकार र मुद्दामा सहकार्य गर्नुपर्ने भएकाले नेविसंघमार्फत सहयोग रकम संकलन गरिएको तरुण दल खोटाङका उपसभापति सञ्जयकुमार राईले बताए।

प्रकाशित: २४ वैशाख २०७६ ०३:२३ मंगलबार

महाधिवेशन किरात_राई_विद्यार्थी_संघ सहयोग