समाज

गैसस महासंघ काभ्रेमा सापकोटा

बनेपा – गैरसरकारी संस्था (गैसस) महासंघ नेपालको काभ्रेपलाञ्चोक जिल्ला शाखा अध्यक्षमा टोमप्रसाद सापकोटा निर्वाचित भएका छन्। शाखाको १६औं वार्षिक साधारणसभा एवं आठौं जिल्ला अधिवेशनमार्फत अध्यक्ष सापकोटासहित कार्य समितिका सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन्।

त्यस्तै समितिको उपाध्यक्षमा दावा तामाङ, सचिवमा गुणराज मोक्तान, उपसचिवमा शान्ता अर्याल, कोषाध्यक्षमा गंगा दोङ, सदस्यमा कमलप्रसाद बञ्जारा, रीता मानन्धर, शान्ति वाइबा, प्रकाश रोका, निर्मला गौतम, चमार लामा (टासी), सुमन खड्का, रामकृष्ण चापागाईं, खुशराज लामा र राजकुमार तामाङ रहेका छन्।

अधिवेशन उद्घाटन कार्यक्रममा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको सार्वभौमिक सत्ता खलबल्याउने गतिविधि हुन थालेकाले गैरसरकारी संस्थालाई नियमन गर्न लागिएको बताए। ‘बाह्य सहयोग स्विकार्नुपर्छ तर नेपालको अखण्डता र सार्वभौमिकतामा आँच पुग्ने काम गर्न पाइँदैन। यही भएर सरकारले गैससलाई नियमन गर्न लागेको हो। पारदर्शी तबरले काम गर्न गैससलाई कसैले रोक्दैन,’ उनले भने। सबै गैरसरकारी संस्थालाई एउटै डालोमा राखेर हेर्ने सरकारको नीति नभएको बाँस्कोटाले उल्लेख गरे। उनले सामाजिक सञ्जालहरूको नियमन हुनुपर्नेमा पनि जोड दिए।

प्रकाशित: २४ वैशाख २०७६ ०२:५९ मंगलबार

गैरसरकारी_संस्था जिल्ला_शाखा टोमप्रसाद_सापकोटा निर्वाचित