समाज

‘नेपालमा २५ भन्दा धेरै लघुवित्त काम छैन’

मकवानपुर - नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रामजी रेग्मीले लघुवित्तलाई व्यवस्थित र जिम्मेवार बनाउन नयाँ नीति ल्याइने बताएका छन्।

सोमबार हेटौंडामा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शुभारम्भ गर्दै उनले लघुवित्तसम्बन्धी १५ वर्ष पुरानो नीतिलाई संशोधन गर्न राष्ट्र बैंकले तयारी गरिरहेको बताए।

‘लघुवित्त संस्था मर्जरमा हामी विशेष जोड दिने गरी योजना ल्याउँदै छौं,’ उनले भने, ‘पुँजी वृद्धि, कर्मचारी तथा सेवाग्राहीलाई तालिमलगायतमा लगानी गर्न हामी लघुवित्त संस्थालाई जिम्मेवार बनाउँदै छौ।’ तालिम दिनु संस्थाकै पुँजीको रुपमा हेर्नुपर्ने भन्दै ऋणलाई सदुपयोग गराउन पनि तालिम अति आवश्यक रहेकोमा उनले जोड दिए।

‘नेपालमा २० देखि २५ वटा भन्दा धेरै लघुवित्त संस्था आवश्यक छैन,’ उनले भने। लघुवित्त संस्थालाई पनि राष्ट्रिय र प्रदेश स्तरीय मान्यता दिनुपर्ने बताउँदै उनले थोरै शाखा, थोरै लगानीमा सीमित संस्थालाई मर्जरमा जान दबाब दिइने खुलासा गरे।

गाउँगाउँमै शाखा विस्तार रहेकाले लघुवित्त संस्थाको भविष्य राम्रो रहेको भन्दै उनले धेरै संस्था भएकाले कारोबारमा दोहोरोपनाले समस्या बढाएको बताए। ‘आजकल एउटै क्षेत्रमा धेरै लघुवित्त संस्था क्रियाशिल छन्,’ उनले भने, ‘एउटाबाट ऋण लिएर अर्कोमा तिर्ने र अनुत्पादक क्षेत्रमा लगानी बढिरहेको छ, त्यसलाई हटाउन हामी लागेका छौ।’

नेपाल राष्ट्र बैंक, वीरगञ्जका निर्देशक राजन विक्रम थापाले ग्रामीण क्षेत्रमा क्रियाशील लघुवित्त संस्था बचत संकलन र ऋण लगानीभन्दा माथि उठ्नुपर्नेमा जोड दिए। ‘लघुवित्त संस्था पैसा संकलन र ऋण प्रवाहभन्दा माथि उठ्नु जरुरी छ,’ उनले भने, ‘संस्था र कर्मचारीले गाउँ, समाजको रुपान्तरण र आर्थिक विकासमा विशेष ध्यान दिनुपर्छ।’

नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा ९१ वटा माईक्रोफाईनान्स(लघुवित्त) संस्था क्रियाशील छन् भने एक सय भन्दा धेरै स्थापनाको तयारीमा छन्। गत फागुनमसान्तको तथ्याङ्क अनुसार ९१ लघुवित्त संस्थाको नेपालभर तीन हजार दुई सय ५८ वटा शाखा छन्।

 

प्रकाशित: २३ वैशाख २०७६ १५:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App