समाज

कृषकलाई अनुदानमा भैंसी दिएपछि मन्त्रीले भनिन्, ‘दुरुपयोग नगर्नुहोला’

कृषकलाई भैंसी वितरण गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी।

सुर्खेत - कर्णाली प्रदेश सरकारले सुर्खेतको बराहताल गाउँपालिका–१० ओदालतालका कृषकलाई भैंसी वितरण गरेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनज्योति कृषि तथा पशुपालन सहकारी संस्थाका ४० जना कृषकलाई एक–एक वटा भैंसी वितरण गरेको हो। ४० जना कृषकलाई ७० लाखमा खरिद गरिएका भैंसी वितरण गरिएको सहकारीका अध्यक्ष ईश्वरभक्त सुनारले जानकारी दिए।

‘प्रदेश सरकारको ५० लाख, कृषकको १० लाख, बराहताल गाउँपालिकाको पाँच लाख र लागत सहभागितामार्फत पाँच लाख गरी ७० लाखमा भैंसी खरिद गरिएको हो’ उनले भने, ‘कैलालीबाट भैंसी खरिद गरेर वितरण गरेका हौं।’ सोमबार ओदालतालमा गोलाप्रथामार्फत कृषकलाई वितरण गरिएको थियो। वितरण गरिएका भैंसीको सरकारले बिमा गरेको छ।
 
कृषकहरुलाई भैंसी वितरण गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कृषकमा आधारित भैंसीपालन व्यवसाय कार्यक्रमअन्तर्गत भैंसी वितरण गरिएको बताइन्। मन्त्री केसीले किसानको आयस्तरमा वृद्धि गर्न प्रदेश सरकारले आगामी वर्षदेखि यो कार्यक्रमलाई १० वटै जिल्लामा पु-याइने बताइन्।

‘सुर्खेतलाई भैंसीको स्रोत केन्द्रका रुपमा विकास गछौं’, उनले भनिन्, ‘अन्य जिल्लाहरुमा यहीँमार्फत वितरण गर्ने लक्ष्य प्रदेश सरकारको छ।’ उनले सरकारी अनुदानको दुरुपयोग नगर्न आग्रह गरिन्। ‘तपाईहरुकै आयस्तर वृद्धिका लागि हामीले अनुदानमार्फत भैंसी वितरण गरेका छौं’, उनले भनिन्, ‘अनुदानको दुरुपयोग नगर्नुहोला, अनुदानमा पाएका भैंसी दुरुपयोग नगर्नुहोला।’

प्रदेशसभा सदस्य विन्दमान विष्टले सरकारी अनुदानलाई सदुपयोग गरी आत्मानिर्भर बन्न आग्रह गरे। बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले व्यवसायिक किसानलाई गाउँपालिकाले पनि अनुदान दिने बताए। दुध उत्पादनका आधारमा किसानलाई प्रोत्साहन अनुदान प्रदान गरिने अध्यक्ष बस्नेतले बताए।

 

प्रकाशित: २३ वैशाख २०७६ १४:२३ सोमबार

कृषकलाई_भैंसी_वितरण सरकारी_अनुदान मन्त्री_विमला_केसी