समाज

ज्यानमारा बन्दै नाता–सम्बन्ध

लहान - सप्तरीको राजविराज नगरपालिका–७ की २६ वर्षीया नजराना खातुनलाई तीन वर्षअघि सासू बानो खातुन र जेठानी नुरजहाँ खातुनले जिउँदै जलाएर हत्या गरे। ९० प्रतिशत शरीरको भाग जलेकी उनको उपचारका क्रममा मृत्यु भएको थियो। नजराना खातुनलाई सासू र जेठानीले आगो लगाई कर्तव्य गरी मारेको अभियोगमा प्रहरीले मुद्दा चलायो। उनीहरू दुवै अदालतको आदेशमा जेल चलान भए। स्थानीयका अनुसार दाइजोको निहुँमा नजरानाले सासू र जेठानीबाट लामो समयदेखि घरेलु हिंसा खप्दै आएकी थिइन्। हिंसा सहन नसकेर प्रतिवाद गर्दा उनको हत्या भयो।

दाइजोलगायत निहुँमा घरेलु हिंसा खप्दै आएका बुहारीहरू प्रतिवादमा उत्रँदा आफन्तबाट हत्या हुने गरेको विकृत सिलसिलाकी प्रतिनिधि पात्र हुन् नजराना। मधेसमा अनेकौं बुहारीहरू नजरानाको नियति बेहोरिरहेका छन्। २०७६ वैशाख ५ गते धनुषा सहिदनगर नगरपालिका–१ की २० वर्षीया निर्मला यादवलाई पति मुकेश यादवले शरीरमा मट्टीतेल खन्याएर आगो लगाइदिए। काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचारका क्रममा वैशाख १६ गते निर्मलाको निधन भयो। घटनापछि फरार मुकेशलाई प्रहरीले खोजिरहेको इलाका प्रहरी कार्यालय सबैलाका निरीक्षक चन्द्रभूषण यादवले बताए। ‘अहिलेसम्म घटनाको कारण घरायसी विवाद भनिएको छ,’ निरीक्षक यादवले भने, ‘प्रतिवादी मुकेश पक्राउ परेपछि घटनाको यथेष्ट कारण खुल्नेछ।’

वैशाख १२ गते बिहीबार सिरहा कल्याणपुर नगरपालिका–८ औरंग टोलकी २० वर्षीया कञ्चन मण्डल (खत्बे) लाई सासू सुरजी मण्डल र पति बेचन मण्डल (खत्बे) मिलेर मट्टीतेल खन्याएर आगो लगाइदिए। आगोबाट शरीरको ८० प्रतिशत भाग जलेकी उनले जीवनका लागि करिब २० घण्टा संघर्ष गरिन्। आफूमाथि पति, सासू र नन्दले गर्दै आएको हिंसात्मक व्यवहारको भारी बुबा रामलोचनसामु बिसाएर कञ्चनले काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा शुक्रबार जीवन यात्रा अन्त्य गरिन्। बिहीबार दिउँसो आफूमाथि पति र सासूले कुटपिट गर्नेगरेको घटना कञ्चनले फोनमा बुबा रामलोचनलाई रुँदै जानकारी गराएकी थिइन्। कञ्चनले बुबासँग आफूहरूले दिएको यातना बयान गरेको सुनेका बेचन र सुरजी उनीमाथी झम्टिए। बेचनले पछाडिबाट मट्टितेल छर्किदिएर सलाई कोरे। सुरजीले पनि अर्को काँटी कोरेर आगो थपिन्। साडी पहिरिएकी कञ्चनको शरीरमा आगो दन्किन थालेपछि बेचन टाप कसे। तर सुरजी अलमलमा परेर घरमै घेरिइन।

कञ्चनको चित्कार सुनेर छिमेकीहरू दौडिँदै आए। प्रहरीसहितको सहयोगमा स्थानीयले कञ्चनलाई मिर्र्चैयास्थित मंगलम मेडिकेयरमा उपचारका लागि भर्ती गराए। जलेर शरीरमा टाँसिएको साडी निकालेर मलमपट्टी गरेपछि त्यहाँका चिकित्सकले बिपी प्रतिष्ठान धरान रेफर गरे। बिपीका चिकित्सकले पनि स्थिति जटिल देखेर बिहीबारै थप उपचारका लागि काठमाडौंका रेफर गरिदिए। शुक्रबार बिहान कञ्चनका बुबा रामलोचनले गाउँमा ऋण सापट गरेर छोरीको थप उपचारका लागि काठमाडौं लगे। एम्बुलेन्सबाट दिउँसो काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल पु¥याएर उपचार सुरु भएको केहीबेरमै कञ्चनले संसार छोडेको बुबा रामलोचनले भक्कानिँदै सुनाए।

‘यहाँ मलाई कुनै दिन यिनीहरू मिलेर मारिदिन्छन् बुबा,’ भन्दै छोरीले फोनमा रुँदै भनेको संवाद सम्झँदै रामलोचनले नागरिकसँग भने, ‘मेहमान आ सम्धिनी मिल क बाबुके माइर देलकै (ज्वाइँ र सम्धिनी मिलेर छोरीलाई मारिदिए)।’ धरानदेखि काठमाडौंसम्मको यात्राका क्रममा कञ्चनले आफूमाथि हुनेगरेको घरेलु हिंसाका सम्पूर्ण घटना बुबालाई सुनाएकी थिइन्। सिरहा अर्नामा गाउँपालिका–३ बंठियाकी कञ्चनको कल्याणपुर–८ औरंगका बेचनसँग २०७ब्ल्म्एभ्च्४४लदकउसवैशाख १९ गते बिहे भएको थियो। उनको एक वर्षकी छोरी छन्। भारत अहमदावादमा मजदुरी गर्ने बेचन केही समयअघि मात्र घर फर्केका थिए। घर आएदेखि नै उनले कञ्चनलाई कुटपिट गर्ने, मानसिक यातना दिने गरिरहेको रामलोचनले बताए। छोरीले आफूमाथि सासु, पति र नन्दबाट हुने कुटपिट र यातनाबारे फोनमार्फत पटकपटक जानकारी गराउँदै आएको उल्लेख गर्दै उनले भने, ‘हामीले सम्बन्ध–विच्छेद गराउनेसम्म ठानिसकेका थियौं तर त्यही बीचमा यो घटना भइदियो।’

रामलोचनले ऋण काढेर भए पनि तीन लाख रुपैयाँ खर्चेर छोरीको विवाह गरिदिएका थिए। ‘सम्बन्ध–विच्छेद गराउनका लागि बिहेमा भएको तीन लाख खर्च फर्काउन भनेका थियौं,’ रामलोचनले भक्कानिँदै भने, ‘मेरी छोरीको यो हाल गर्ने दानवलाई हदैसम्मको कारबाही होस्, हजूर।’ प्रहरीले कञ्चनकी सासू सुर्जी मण्डल (खत्बे) लाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले बताए। फरार रहेका बेचनको खोजी भइरहेको उनले बताए।

छोरीको सुखसयल र खुसीका लागि मधेसका धेरै पिताहरू घर–खेतसमेत बेचेका छन्, बेच्दैछन्। छोरीको खुसीका लागि घर खेत बेचेका कैयन पिताहरू ‘ससुराल’मा हुने छोरी–हत्याको दर्दनाक पीडा सहेर बस्न बाध्य छन, हुँदै छन्। आफूभन्दा धनाढ्य घरमा विवाह गरिदिएपछि छोरी सुखी हुन्छन् भन्ने ठानेर केटी पक्षले ऋण गरेर भए पनि केटापक्षलाई दाइजो दिने चलन छ। छोरीको खुसीका लागि दिइने दाइजोको ‘प्रति–असर’का रूपमा हुने गरेका महिला हिंसाका घटना पछिल्लो समय एकपछि अर्को गरी थपिँदै गएका छन्।

२०७५ चैत ८ गते त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा वीरगन्ज–२० हपतगन्जकी ४५ वर्षीया सुनीता यादवको मृत्यु भएको थियो। थप दाइजोको माग गर्दै आएका डाक्टर पति सचितानन्द यादवले दुई दिनअघि सुनीतालाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए। पतिको चोट सहन नसकेर उनी मृत्युवरण गर्न बाध्य भइन्। बारा परवानीपुर गाउँपालिका–५ बहुअरी माइत भएकी ४३ वर्षीया सुनीताको १५ वर्षअघि सचितानन्दसँग विवाह भएको थियो। मनग्य दाइजो दिएर छोरीलाई डाक्टरको जिम्मा लगाएपछि आमाबुबाले चैनको सास फेरेका थिए होलान् तर विडम्बना त्यही दाइजोको लोभ बढ्दै गएर सुनीताको हत्यामा परिणत भयो। ‘दाइजोकै कारण मधेसी समाजमा अझै पनि सानै उमेरमा बिहे गरिदिने, बेमेल बिहे गरिदिने चलन छ,’ ओरेक नेपाल लहानकी देवकुमारी महराले भन्छिन्, ‘त्यही दाइजो काल बनेर एकपछि अर्की महिलाको जीवन खोस्दै छ।’

प्रदेश २ अन्तर्गत भएका घरेलु हिंसाका यी पछिल्ला घटनाहरूले तराई–मधेसको समाज खलबलिएको छ। महिलाहरू दाइजो र आवेशका कारण हत्याको निशाना बन्दै छन्, आफ्नै पतिबाट।‘परिवारका मानिसबाटै छोरी–बुहारीको हत्या हुने जस्ता अत्यन्त निन्दनीय घटना हाम्रो समाजमा हुँदै छन्,’ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले घरेलु हिंसाबारे प्रतिक्रिया दिँदै भने, ‘यसले हामीलाई निकै चिन्तित बनाएको छ।’ मुख्यमन्त्री राउतका अनुसार मधेसमा दाइजो निरुत्साहित गर्ने र छोरी–बुहारीको जीवन सुरक्षित बनाउने उद्देश्यले बेटी बचाउ बेटी पढाउ, छोरी शिक्षा बिमालगायत कार्यक्रम सुरु गरिएको छ र यसको प्रभाव बिस्तारै देखिनेछ।

प्रकाशित: २३ वैशाख २०७६ ०१:०९ सोमबार

नाता ज्यानमारा दाइजाे अदालत