समाज

पक्की घर बनाउँदै राउटे

कञ्चनपुर– कुनै बेला जङ्गलमा झुपडी बनाएर जीवन निर्वाह गर्दै आएका लोपोन्मुख राउटे समुदायका नागरिक समाजमा घुलमिल भएसँगै सुविधातर्फ पनि ध्यान दिन थालेका छन्।

कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का निर्वाचित प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्टको सांसद विकास कोषको रकमबाट राउटे परिवारलाई पक्की घर बनाउन लागेको वडा नं ९ का वडाध्यक्ष राम नाथले जानकारी दिए। मटेनामा एक दशकदेखि पाँच परिवार राउटे समुदाय बसोवास गर्दै आएका छन् भने भीमदत्तनगरपालिका–९ को खल्लागाउँमा तीन परिवार बस्दछन्।

घर निर्माणमा खटिएकी फुना राउटेले टहरामा निकै कष्टपूर्ण दैनिकी गुजार्दै आएको बताए। ‘अहिले पनि जङ्गलको काष्ठ सामग्री, जडीबुटी र गाउँघरमा मजदूरी गरेर जीविका चलाउँछौँ।’ उनले भने, 'हाम्रो बाच्ने आधार नै अहिले सरकारले दिने भत्ता भएको छ।' वडाध्यक्ष नाथले राउटेको प्रतिव्यक्ति मासिक दुई हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता दिँदै आएको जानकारी दिए।

‘भत्ताबाटै रासन खरीद गरेर गुजारा गरिरहेका छन्’ उनले भने, 'अहिले त गाउँघरमा घुलमिल भएर काम पनि गरिरहेकै हुन्छन्।' अहिले गाउँमा राउटे समुदायका बालबालिका स्कुलसमेत जान थालेका छन्। रासस

प्रकाशित: २२ वैशाख २०७६ ०९:३८ आइतबार

राउटे_समुदाय घर भीमदत्तनगरपालिका बैजनाथ_सामुदायिक_वन