धनगढीमाई - २४ मंसिर २०७५ मा धनगढीमाई नगर कार्यपालिकाले मनी निर्माण सेवा धनगढीमाईलाई निजी खानी सञ्चालन गर्न दिने निर्णय ग¥यो। त्यसपछि सो निर्माण सेवाले नगरपालिकालाई डेढ लाख राजस्व बुझाएर कसहा खोलाकिनारमा डोजर लगाएर अनियन्त्रित रूपमा ग्राभेल उत्खनन गर्दै आएको छ।
नगरपालिका र स्थानीय प्रहरीको संरक्षणमा डोजर लगाएर भइरहेको अनियन्त्रित उत्खनन तथा निकासीबाट आजित यस भेगका जनताले पछिल्लो समय निकासी हुने बाटोमा खाल्डो खनेर खवरोध गरेका छन्। प्रहरी, नगरपालिकालाई पटकपटक गुहार्दा सुनुवाइ पनि नभएपछि जनताले अवैध धन्दाका लागि प्रयोग हुने अबैध बाटो अवरुद्ध पारेको स्थानीय मनोज महतोले बताए।
पूर्वपश्चिम राजमार्गअन्तर्गत प्रहरी चौकी कसहाको पश्चिम छेउबाटै बग्ने कसहा खोलाको बहावलाई पुरेर खानी सञ्चालकले बाटो बनाएको थियो। सोही बाटोबाट कसहा खोलाकिनार र अन्य भागमा अवैध उत्खनन गरिएको ग्राभेल बोकेका टिपर राजमार्गतर्फ आउने गरेका छन्। ‘खोलाकिनारमा डोजर लगाएर अनियन्त्रित रूपमा खन्न त नहुने हो,’ धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले भने, ‘खै ठेकेदारहरू केके गर्छन् गर्छन्, अनुगमन गरेर पनि साध्य छैन। नियमतः खोलाकिनारबाट पाँच सय मिटर दूरीमा डोजर लगाएर उत्खनन गर्न मिल्दैन।’ नगरपालिकाले खोला, नदी र खानी ठेक्का लगाएको छ तर अनुगमनका लागि संयन्त्र बनाएको छैन। शर्माले भने, ‘सरकारबाट रोक्न निर्देशन भए तुरुन्तै बन्द गरिदिन्छौं,’ सरकारबाट निर्देशन नआएसम्म हामी केही गर्न सक्दैनौं।’
पछिल्लो समय धनगढीमाई नगरपालिकाको कसहादेखि उत्तरी क्षेत्रको बस्ती अनियन्त्रित उत्खननको चपेटामा परी खण्डहर बन्दै गएको छ।
मंसिरको दोस्रो साता खानीको अवैध उत्खनन नगरपालिकाले प्रहरी लगाएर रोकेको थियो। तर मनी निर्माण समितिलाई तत्कालै ग्राभेल खन्न अनुमति दिइएको थियो। त्यसपछि नगरपालिकामा निश्चित रकम बुझाउँदै खानीको नाममा अनियन्त्रित उत्खनन सुरु गरियो। पछिल्लो समय धनगढीमाई नगरपालिकाको कसहादेखि उत्तरको बस्ती अनियन्त्रित उत्खननको चपेटामा परी खण्डहर बन्दै गएको छ। ‘धनगढीमाई नगरपालिकाभित्रका खानीजन्य भूभागको संरक्षण हुन नसक्दा खानीजन्य पदार्थको अवैध र अनियन्त्रित उत्खनन बढ्दो छ,’ स्थानीय रामप्रसाद सिंहले भने। चुरे क्षेत्रसँग नजिक रहेको धनगढीमाई नगरपालिका–८ स्थित टेना टोल, कसहा, चिसापानी, महुवाडाँडा, कुमराहा, डगरटोल, भोर्लेनी, भुलकिया, बिहिबारे, बलडाराकलगायत क्षेत्र अनियन्त्रित उत्खननका कारण प्रभावित बनेको सिंहले बताए।
चौतर्फी बस्ती, विद्यालय तथा मन्दिरहरू रहेको स्थानमा हुइँकिएका टिप्परले असर पु¥याएको स्थानीय राजदेव महतोले गुनासो गरे। प्रदूषणका कारण कसहा बजारको व्यपार नै सेलाएको छ। उत्तरबाट आउने ग्राहक पछिल्लो समय टिप्पर र प्रदूषण आतंकका कारण धनगढी र गोलबजारतर्फ मोडिएको यहाँका व्यापारी बताउँछन्। स्थानीय सरकारको मनोमानीलाई प्रदेश सरकारले मौन समर्थन दिएको स्थानीय रामप्रसाद सिंहले बताए। प्रदेश सरकारले राजस्वको लोभले जनताको पीडा देखेको नदेखे झैं गरेको उनले आरोप लगाए।
खानी सञ्चालकले स्थानीय प्रहरी तथा नगरपालिकाका केही पदाधिकारी र कर्मचारीलाई मिलाएर निर्धक्क खानी उत्खनन गरेको स्थानीयको आरोप छ। जनताले पटकपटक खानी उत्खनन बन्द गर्न आवाज उठाए तर कहिले प्रहरी प्रयोग गरेर त कहिले जनप्रतिनिधिमार्फत आवाज दबाइएको उनीहरूको गुनासो छ। आफूले पटकपटक खानी उत्खनन कार्य रोक्ने प्रयास गरे पनि सरकारी सहयोग नपाएको स्थानीय मनोज महतोले बताए। उनका अनुसार अवैध उत्खननमा राजनीतिक दलका केही स्थानीय नेता नै संलग्न रहेका छन्। कसहा खोला किनारबाट दैनिक करिब तीन सय टिप्पर ग्राभेल जिल्लाबाहिर आपूर्ति भइरहेको जानकारी गराउँदै उनले भने, ‘उत्खननको गति यही रहने हो भने यस भेगका जनताले खानेपानी संकटसँगै मरुभूमीकरणको प्रलय भोग्नुपर्ने अवस्था आउँछ।’
प्रकाशित: २२ वैशाख २०७६ ०२:०६ आइतबार