समाज

खानेपानी अभाव झेल्दै प्रदेश ५ का सहर

बुटवल - स्वच्छ खानेपानी प्रयााप्त उपभोग गर्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो। खानेपानीको उचित प्रबन्ध गर्नु राज्यको दायित्व हो। तर तीन/तीनवटा सरकार हुँदा पनि आमनागरिकले पर्याप्त पानी खान पाएका छैनन। तीनवटै सरकारले देश समृद्धिको यात्रामा अघि बसिकढेको बताइरहँदा प्रदेश ५ का अधिकांस जिल्ला सदरमुकाम तथा सहरी क्षेत्र भने खानेपानीको चरम अभाव बेहोर्न बाध्य छन्। गर्मी लागेसँगै सर्वसाधारणका घरका धारामा पानी आउन छाडेको छ। एक गाग्रो पानीका लागि घन्टौं लाइनमा बस्नुपर्छ। कहीं ट्यांकरको पानी नकिनी सुख छैन। वर्षा लागेपछि धमिलो पानी खानुपर्ने अर्को समस्या छ। तराईका ग्रामीण भेगमा जनता आर्सेनिकयुक्त पानी खान बाध्य छन्। निर्वाचनका बेला आकाशका जुनतारा झारिदिन्छु जस्तै गर्ने जनप्रतिनिधिहरू आफ्नै सेवासुविधामा लिप्त हुँदा आमनागरिकले पर्याप्त पानी खान नपाएको गुनासो जनताको छ।

पानी भर्न दुई दिन पालो कुर्नुपर्ने
१० वर्षे सशस्त्र द्वन्द्वको उद्गम थलो रोल्पाको होलेरीमा खानेपानीको चरम समस्या छ। गर्मी लागेसँगै होलेरी बजारमा खानेपानी भर्न दुई दिनसम्म पालो कुर्नुपर्छ। दिनमा पालो नपर्दा रातभर जाग्राम पनि बस्नुपर्छ। दुई दिनपछि आउने पालोमा पनि एउटा परिवारले १६ मिनेटभन्दा बढी समय पाउँदैन। होलेरीका होटल व्यवसायी विपीन सुवेदीले भने, ‘दुःख सहेकै छाैँ, के गर्नु गुजारा चलाउनैप¥यो।’ पानीको अभाव भएपछि शौचालय प्रयोगमा समेत कठिनाइ भएको स्थानीयको गुनासो छ।

निश्चित समय बाँडेर पानी भर्ने व्यवस्था गर्दा पनि समस्या नसुल्झिएको होलेरीका नन्दलाल खत्रीले बताए। उनका अनुसार स्थानीय सरकार गठन भएपछि होलेरीवासीले खानेपानीको समस्या समाधान हुने आशा गरेका थिए। तर डेढ वर्ष बितिसक्दा पनि खानेपानीको हाहाकार उस्तै छ। सामुदायिक वनमा भएका पानीका मुहान टाठाबाठाले व्यक्तिगत रूपमा प्रयोग गर्दा होलेरीले यस्तोे समस्या झेल्नुपरेको अर्का स्थानीय देवेन्द्र बोहराले बताए। स्थानीय तहले ती मुहानको पानी समानुपातिक ढंगले वितरण गर्नेतर्फ चासो नदिँदा सर्वसाधारण मर्कामा परेका हुन्।

२०७१ मा सुरु भएको चन्दन खोला खानेपानी आयोजनामार्फत अर्को वर्ष होलेरीमा पानी आइपुग्ने उपभोक्ता समितिका अध्यक्ष गोविन्द पुनले बताए। ‘अर्को वर्षको गर्मीमा होलेरीमा चन्दनको पानी आइपुग्ने आशा गरेका छौं,’ पुनले भने। रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले तत्कालको समस्या समाधानका लागि निजी रूपमा प्रयोग भइरहेका सामुदायिक वनका मुहानबाट समुदायलाई पानी वितरण गर्ने व्यवस्था मिलाइने आश्वासन दिए।

एक करोड ४० लाख लिटर अपुग
प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा खानेपानीको अभाव हरेक वर्ष चुलिँदो छ। छिमेकी जिल्ला पाल्पामा पानी प¥यो भने बुटवलवासीका घरमा धारामा धमिलो पानी आउँछ। विशेषगरी दीपनगर र सुक्खानगर क्षेत्रका बासिन्दा खानेपानीकै लागि रातभर जाग्राम बस्नुपर्ने गुनासो गर्छन्। ‘दुईतीन दिनसम्म धारामा पानी आउँदैन, आए पनि एकैछिनमा बन्द हुन्छ। कहिले त मध्यरातमा पानी आउँछ,’ बुटवल दिपनगरकी पुनम रजालीले भनिन्। गर्मीयाममा ट्यांकरको पानी नकिने गुजारा नचल्ने बताउँछन् सुक्खानगरका कृष्ण गौतम। बुटवलवासीले यस्तो समस्या भोग्न थालेको दुई दशक भयो। खानेपानी संस्थान बुटवलका अनुसार यहाँ दैनिक तीन करोड ४० लाख लिटर पानीको माग छ। वितरण दैनिक दुई करोड लिटर मात्रै छ। बुटवलको दीपनगर, सुक्खानगर र बेलवास क्षेत्रमा बढी समस्या रहेको संस्थानले जनाएको छ। संस्थानले ६० प्रतिशत पानी तिनाउ खोलाबाट पम्पले तानेर वितरण गर्छ। जुन पानी वर्षामा धमिलो हुन्छ। जसअन्तरगर्त १६ हजार धारा छन्। हरेक वर्ष पाँच सयको हाराहारीमा नयाँ धारा जडानका लागि निवेदन पर्छन्। त्यसबाहेक १९ वटा बोरिङमार्फत पनि पानी वितरण गरीएको छ। खानेपानीको बढ्दो समस्याको स्थायी समाधानकालागि न त बुटवल उपमहानगर पालिकाले ठोस पहल गरेको छ, न त यस क्षेत्रका प्रतिनिधि र प्रदेश सभासदहरुले चासो दिएका छन।

बुटवलमा २३ वर्षअघि सिस्ने खानेपानी आयोजना सुरु भएको थियो। पाल्पाको झुम्सा खोलाबाट दैनिक सवा तीन करोड लिटर पानी बुटवल ल्याउने योजनासहित आर्थिक वर्ष २०५२÷५३ मा सुरु भएको सिस्नेलाई आव २०६४÷६५ मा नाम परिर्वतन गरी झुम्सा खानेपानी आयोजना बनाइयो। यो आयोजनालाई बुटवलबाट विजयी प्रतिनिधि सांसद विष्णु पौडेल, प्रदेश सांसद, नगर प्रमुख, उपप्रमुखदेखि वडा सदस्यसमेतको मुख्य चुनावी एजेन्डा बनाए। तर अहिले आयोजना अलपत्र छ। त्यसको मुख्य दोषी यस क्षेत्रका राजनीतिक दल र निर्वाचित जनप्रतिनिधि भएको बताउँछन बुटवलका स्थानीय दामोदर खनाल। खानेपानी संस्थान बुटवलका सहायक प्रबन्धक बुद्धरत्न महर्जनले बुटवलमा खानेपानीको समस्या विकराल भएको स्वीकार गर्दै दीपनगर र सुक्खानगर क्षेत्रमा बोरिङ स्थापना गर्न लागीएको जानकारी दिए।

धारामा हप्ता दिनसम्म पानी आउँदैन
अध्ययनका लागि तानसेन डेरा गरी बस्ने स्याङ्जा मालुंगाका निसान गैरेलाई लुगा धुन आफ्नै गाउँ पुग्नुपर्छ। ‘घरबेटीले पानी दिन दुःख मान्छन्। घन्टौं लाइनमा बसेर ल्याएको पानी पु¥याएर खानुपर्छ,’ उनले भने। गर्मीमा हप्ता दिनसम्म धारामा पानी नआउँदा नगरवासीहरू खानेपानीकै लागि भौंतारिनुपरेको तानसेनका युवा उद्यमी पुण्यप्रसाद सुवेदी बताउँछन्। पाल्पा सदरमुकाम तानसेनमा जाडो गर्मी बाह्रैमास खानेपानीको अभाव हुन्छ। गर्मीयाममा नजिकका ढुंगेधाराहरू पनि सुक्ने भएकाले समस्या झन् विकरला बन्छ। यहाँ दैनिक २५ लाख लिटर खानेपानी आवश्यक रहे पनि आपूर्ति दैनिक सात लाख लिटर मात्रै छ। नगरमा भुल्के, सिस्ने, होलाङ्दी र तीनधाराबाट पम्पिङ प्रणाली आयोजनामार्फत खानेपानीको आपूर्ति हुँदै आएको छ। साबिकको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले पानी वितरण व्यवस्थापनको जिम्मेवारी उपभोक्ता समितिलाई हस्तान्तरण गरेसँगै वितरण प्रक्रिया झन् अव्यवस्थित भएको नगरवासीको गुनासो छ।

समितिले न्यायिक वितरण प्रणाली अवलम्बन गर्नै नसकेको नगरवासी बताउँछन्। समितिका सचिव भीमसेन कार्कीले पर्याप्त पानी नहुँदा मागअनुरूप वितरण गर्न नसकिएको बताए। तानसेनमा कालीगण्डकी खानेपानी आयोजना सञ्चालित छ। जुन आयोजनाबाट दैनिक २४ लाख लिटर पानी वितरण गर्ने लक्ष्य छ। झन्डै ४० करोडको लागतमा सञ्चालित आयोजना गत वर्षको फागुनमै सम्पन्न गर्ने भनिए पनि हालसम्म ८० प्रतिशत काम सकिएको छ। समितिका सचिव कार्कीले आगामी असारसम्म आयोजना सम्पन्न हुन सक्ने बताए। समायोजनका कारण गत भदौदेखि माघसम्म आयोजना प्रमुखविहीन हुँदा ठेकेदारलाई जवाफदेहि बनाउन नसकिएको र काममा ढिलाइ भएको उनले बताए।

आसेनिकयुक्त पानी खान बाध्य
कपिलवस्तुको मुख्य समस्या भनेको आर्सेनिकयुक्त पानी हो। खानेपानी तथा सरसफाइ डिभिजनको कपिलवस्तु सम्र्पक कार्यालयका अनुसार जिल्लाका दर्जनौं गाँउका बासिन्दा अहिले पनि आर्सनिकयुक्त पानी खान बाध्य छन्। एक दशकअघि युनिसेफ र खानेपानी सरसफाइ सबडिभिजन कार्यालयको संयुक्त टोलीले तत्कालीन तीनवटा निर्वाचन क्षेत्रमा सर्वेक्षण गरेको थियो। बुद्धभूमि नगरपालिका–१ महेन्द्रकोटमा जमिनमुनिको पानीमा अधिक आर्र्सेनिक भएकाले खान अयोग्य घोषित गरिएको छ। तर त्यहाकाँ स्थानीय अहिले पनि त्यही पानी खान बाध्य छन। महेन्द्रकोटका वडाध्यक्ष तेजबहादुर बस्नेतले स्वस्थ पिउने पानीको अभावमा वडावासीहरू आर्सेनिकयुक्त पानी खान बाध्य भएको बताए। आफू निर्वाचित भएपछि वडावासीलाई स्वास्थ्य पिउने पानी उपलब्ध गराउन पहल गरिरहेको र वास परियोजनाअन्तर्गत तीनवटा खानेपानी आयोजना सञ्चालन गरीएको बस्नेतले बताए। शिवराज नगरपालिकाका थुन्हिया, उदयपुर, दुबिया, बुढ्ढी, महाराजगन्जलगायत गाउँमा जमिनमुनिको पानीमा अर्सेनिकको मात्रा अधिक रहेकाले पिउन अयोग्य रहेको खानेपानीको कपिलवस्तु सम्पर्क कार्यालयका इन्जिनियर खरानन्द इसरले बताए। पिउन अयोग्य प्रमाणित भए पनि स्वस्थ पिउने पानी उपलब्ध नहुँदा त्यहाका स्थानीयले अहिले पनि त्यही पानी खाइरहेका छन।

चिकित्सकहरूका अनुसार आर्सेनिकयुक्त पानीको नियमित सेवनले छाला, पेट, आँखासम्बन्धी विभिन्न समस्या तथा क्यान्सर लाग्ने खतरा रहन्छ। उपभोक्ता हकहित संरक्षण मञ्च कपिलवस्तुका अध्यक्ष भेषराज पाण्डेयले ग्रामीण भेगका बासिन्दा अहिले पनि आर्सेनिकयुक्त पानी खान बाध्य भएको र त्यसले भविष्यमा जटिल स्वास्थ्य समस्या निम्त्याउन सक्ने खतरा आंैल्याए। स्थानीय निकायहरुले समस्यालाइ गम्भिर रुपमा लिएर स्वाच्छ पानीको व्यवस्थापनमा ध्यान दिनुपर्नेमा उनले जोड दिए।

दूषित खान बाध्य
प्युठानका विभिन्न स्थानीय तहमा पनि खानेपानीको समस्या छ। यहाँका केही क्षेत्रका बासिन्दा शुद्ध खानेपानी नहुँदा दूषित पानी खान बाध्य छन्।

प्युठान मल्लरानी गाउँपालिका–२ का केही गाउँमा स्थानीय खानेपानी समस्याले आजित छन्। ‘बुढो भइयो तर खानेपानीको समस्या समाधान भएन,’ स्थानीय कृष्ण सार्कीले भने, ‘पानी ल्याउने भनेर धेरै नेताले भाषण मात्र गरे तर चुनाव सकिएपछि बिर्सिए।’ यहाँका दुई सय ७० घरधुरी खानेपानीको समस्यामा छन्।

गाउँदेखि टाढा रहेको मुहानमा पुगेर पानी भर्नुपर्ने समस्या स्थानीयलाई छ। नजिकै मुहान नहुनु यहाँको मुख्य समस्या हो। यता वडाध्यक्ष लेखबहादुर थापाले भने गाउँमा रहेको भुल्के खानेपानी आयोजनाको मुहान मर्मत गरेर खानेपानी समस्या समाधान गर्ने आश्वासन दिए। यस वर्ष खानेपानीको मुल मर्मत गर्न गाउँपालिकाले ५० हजार रकम विनियोजन गरेको थापाले सुनाए। विनोद परियार/बुटवल, किरणमान बज्राचार्य/कपिलवस्तु, मुक्तिप्रसाद न्यौपाने/पाल्पा, दिनेश सुवेदी/रोल्पा, शमशेर जिसी/प्यूठान

प्रकाशित: २१ वैशाख २०७६ ०१:३१ शनिबार

स्वच्छ_खानेपानी उपभोग नैसर्गिक_अधिकार