समाज

गाउँपालिका कार्यालय तोडफोड गरी चोरी

गाउँपालिका अध्यक्ष र कर्मचारीहरुको तोडफोड भएको कार्यकक्ष ।

धादिङ - धादिङको गजुरी गाउँपालिका कार्यालयमा बिहीबार राति अज्ञात समूहले तोडफोड गरी सामान चोरी गरेको छ। गाउँपालिका कार्यालयको मुल ढोका तोडिएको छ। सबै कार्यकक्षको ढोका फुटेका छन् भने दराज र टेबलका घर्रा पनि फुटेका छन्।

मध्यराति कार्यालयभित्र प्रवेश गरी उक्त समूहले ल्यापटप २ थान, मुभी क्यामेरा थान १ थान, डीएसएलआर क्यामेरा १ थान र केही थान हार्डडिक्स समेत चोरी गरेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले जानकारी दिए।

‘मध्यरातमा सुनियोजित रुपमा चोरी भएको छ’, अध्यक्ष बस्नेतले भने, ‘सुनियोजित रुपमा २÷४ दिन रेकी गरेर सबै कुरा थाहा पाएका चोरहरुले नै चोरी गरेको जस्तो देखिएको छ।’ कार्यलयको सीसीटीभी फुटेजमा पनि हातमा पञ्जा लगाएका र अनुहारमा मास्क लगाएका २ अपरिचित युवाले कार्यपालिका भवनको मुलगेट फुटाइ भित्र प्रवेश गरेको देखिएको छ। इलेक्ट्रोनिक सामान चोरी भए पनि कार्यालयका कुनै पनि काजगपत्रमा भने नोक्सानी पुगेको छैन।

चोरी भएपछि इलाका प्रहरी कार्यालय गजुरीले पनि अनुसन्धान प्रक्रिया अघि बढाएको छ। इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुंगेलले भने, ‘घटनाको सूक्ष्म अध्ययन गरिरहेका छाँै, सीसी क्यामेरामा कैद भएका तस्विर र गाउँपालिकामा यसअघि आवतजावत गरेका अपरिचित व्यक्तिहरुको पहिचान गर्ने काम भइरहेको छ ।’

 

प्रकाशित: २० वैशाख २०७६ १२:५९ शुक्रबार

गजुरी_गाउँपालिका धादिङ अज्ञात_समूह गाउँपालिकाका_अध्यक्ष