समाज

पर्वतारोहीलाई सतर्क रहन आग्रह, सोमबारदेखि मात्र मौसममा सुधार

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले पर्वतारोहीलाई सचेत रहन आग्रह गरेको छ। चक्रवत फानीका कारण देशको हिमालि भू-भागहरुमा आज (शुक्रबार) र भोलि (शनिबार) मध्यमदेखि भारी हिमपातको सम्भावना रहेकोले पर्वतारोहिलाई सचेत हुन आग्रह गरेको हो।  

महाशाखाका अनुसार भु-उपग्रहबाट प्राप्त तस्वीर तथा मौसम विष्लेशणको आधारमा उक्त चक्रवात नेपाल तर्फ आउने सम्भावना न्युन छ। उक्त चक्रवातको प्रत्यक्ष प्रभाव नभए पनि सो सँग सम्बन्धित मौसम प्रणाली को कारणबाट नेपालको बिशेषत: पूर्व र मध्य भागमा बदली एबं केहि स्थानहरुमा वर्षा भएको छ। देशका पश्चिम र मध्य भु-भागमा भने पश्चिमी वायुको समेत प्रभाव रहेको छ।

गृहमन्त्रालय अन्तर्गतको आपतकालिन उद्दार सहायता केन्द्रले पूर्बी हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने हुँदा सो क्षेत्रमा अहिले देखिनै भोलि दिनभरसम्म हेलिकप्टर उडान नगर्न आग्रह गरेको छ। पर्यटक एवं यात्रुहरूलाई सुरक्षित स्थानमा रहन समेत केन्द्रले भनेको छ।

 नेपालको पूर्वी र मध्य क्षेत्रका धेरै स्थानहरुमा आज (शुक्रबार) र भोलि (शनिबार ) मेघ गर्जन/चट्टयांग तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने तथा एक दुई स्थानमा भारी वर्षा हुनसक्ने  सम्भावना रहेको महाशाखाले जनाएको छ। पूर्वी क्षेत्रका केहि स्थानहरुमा आइतबारसम्म पनि वर्षा हुन सक्नेछ। पश्चिमि क्षेत्रमा भने आज (शुक्रबार) पश्चिमी वायुको प्रभाव रहने हुँदा केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। आइतबारदेखि देशको मध्य क्षेत्रमा र सोमबारदेखि मात्रै पूर्वी क्षेत्रमा मौसममा क्रमिक रुपमा सुधार आउने जनाइएको छ।

भारतको मौसम विभागका अनुसार फानी बिहान आठ बजे पृथ्वीमा प्रवेश गरेको थियो। फानीको मार्गमा पर्न सक्ने भारतका ओडिसाका विभिन्न स्थानहरुबाट मानिसहरुलाई हटाइएको छ। भारतीय सञ्चारमाध्यले जनाए अनुसार ओडिसा क्षेत्रका १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

 

प्रकाशित: २० वैशाख २०७६ ०९:४५ शुक्रबार

फानी मौसम चक्रवत