समाज

तेन्जिङ हिलारी र फाप्लु विमानस्थल बन्द, विरामी अलपत्र

सोलुखुम्बु– समुन्द्री चक्रवात 'फानी'को प्रभावले हिमाली भेगमा भारी हिमपात हुने सम्भावनाको पुर्वानुमान गरिएपछि जिल्लाका अतिव्यस्त तेन्जिङ हिलारी र फाप्लु विमानस्थल बन्द गरिएको छ।

राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले आज र भोलि पूर्वी हिमाली क्षेत्रमा हेलिकप्टर  र जहाज नउडाउन अनुरोध गरेपछि विश्वकै १० जोखिम मध्येको एक विमानस्थल तेन्जिङ हिलारी विमानस्थल बन्द गरिएको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीले नागरिक न्युजलाई बताए। उनले भने, ‘मध्यान्न १२ बजेसम्म उडान गरिएको थियो। आजको उडानमध्ये करिब ६० प्रतिशत सकिएको छ ।’ भोलि उडान गर्ने नगर्ने विषय मौसममा भरपर्ने अधिकारीले बताए।

पदयात्रा र हिमाल आरोहणमा निस्किएलाई सुरक्षित स्थानमा बस्न पनि राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले आग्रह गरेको छ। 'फानी' आँधिको प्रभाव पर्ने सम्भावनाकै कारण फाप्लु विमानस्थलमा आजको दुई उडान रद्द गरिएको छ। मौसम प्रतिकुल रहे भोलि पनि विमानस्थल बन्द रहने नागरिक उड्ययन कार्यालय, फाप्लुका प्रमुख प्रकाश शर्माले बताए। उडान बन्द भएपछि जिल्ला अस्पतालबाट रेफर गरिएका विरामी अन्यौलमा परेका छन्।

प्रकाशित: २० वैशाख २०७६ ०८:४० शुक्रबार

फानी_आँधि तेन्जिङ_हिलारी_र_फाप्लु_विमानस्थल उडान_रद्द मौसम