समाज

श्रमजीवी पत्रकारको शोषण अब स्वीकार्य हुँदैन–मन्त्री बाँस्कोटा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी वर्ष नेपाली पत्रकारिता क्षेत्र सुरक्षा र सम्मानको वर्ष हुने बताएका छन्। १६ औं अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ, युनेस्को र निर्वाचन आयोगको संयुक्त आयोजनामा आज आयोजित कार्यक्रममा उनले प्रेसमाथि अङ्कुश लगाउने सरकारको कुनै पनि योजना नरहेको स्पष्ट पार्दै समाचार लेखेको भरमा पत्रकार पीडित बन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताए।

सञ्चारगृह कसैको अभिष्ट पूरा गर्ने थलो भन्न नहुने बताउँदै मन्त्री बाँस्कोटाले सञ्चारगृह सरकारप्रति होइन जनताप्रति उत्तरदायी बन्नुपर्ने बताए। सबै सञ्चार गृहमा न्यूनतम पारिश्रमिक लागू गराएरै छोड्ने प्रतिबद्धता व्यक्त गर्दै उनले श्रमजीवीको शोषण अब स्वीकार्य नहुने स्पष्ट पारे।

उनले सरकारले सामाजिक सञ्जाल नियमन गर्न खोजेको बताउँदै यो संसारभर चलेको सिद्धान्त रहेको बताए।  समाचारको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा भएको बताउँदै उनले सञ्चारगृहलाई विश्वासिलो सूचना प्रवाह गर्न र जनविश्वास आर्जन गर्न आग्रह गरे।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सङ्ख्यात्मक हिसाबले नेपाली मिडिया बढेको बताउँदै  सङ्ख्या बढेसँगै गुणस्तर खस्किएको बताए। फरक प्रसङ्गमा उनले निर्वाचन प्रणालीलाई आमूल परिवर्तन गर्ने प्रक्रिया आफूले थालनी गरेको उल्लेख गरे।

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य, पूर्व अध्यक्ष हरिहर विरहीलगायतले सशस्त्र द्वन्द्वकालमा मारिएका पत्रकारका हत्यारालाई कारवाही नहुँदा मुलुकमा दण्डहीनता बढेर गएको बताए। प्रेस स्वतन्त्रता उल्लङ्घन हुनुमा पत्रकार पनि दोषी भए नभएको खोजी गर्ने बेला आएको उनीहरुको धारणा थियो ।

सो अवसरमा महासङ्घले महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झा, वरिष्ठ पत्रकारद्वय गोपाल गुरागाईं र संगीता लामालाई प्रेस स्वतन्त्रता सेनानी सम्मान’ प्रदान गरेको छ। उनीहरुलाई मन्त्री बाँस्कोटाले दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेका थिए। सो अवसरमा महासङ्घद्वारा प्रकाशित प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन सार्वजनिक गरियो। प्रतिवेदनमा प्रेस स्वतन्त्रता उल्लघङ्नका ६० वटा घटनामा ७७ पत्रकार र पाँचवटा सञ्चार गृह प्रभावित भएको जनाइएको छ।

प्रतिवेदनमा यसवर्ष मकवानपुरका सञ्चारकर्मी मनोहर ढकालको कार्यालयबाट घर फर्कंदै गर्दा लागुऔषध दुव्र्यसनीबाट हत्या भएको उल्लेख छ। त्यसैगरी गिरफ्तारीमा १२, बेपत्तामा एक, कब्जामा छ, आक्रमणमा १५, दुव्यवहार/धम्कीमा २५ वटा घटना घटेका छन्।

गत वर्षको तुलनामा यसवर्ष प्रेस स्वतन्त्रता हनन्का घटनामा केही कमी भए पनि अझै पनि प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको अबस्थालाई सन्तोषजनक मान्ने नसिकने अवस्था नभएको महासङ्घको भनाइ छ । रासस

प्रकाशित: २० वैशाख २०७६ ०८:१४ शुक्रबार

१६_औं_अन्तर्राष्ट्रिय_प्रेस_स्वतन्त्रता_दिवस श्रमजीवी_पत्रकार शोषण