समाज

निकासी हुँदै गरेका गाईगोरु नियन्त्रणमा

अवैध रूपमा भारत निकासी हुँदै गरेका गार्ईगोरु नियन्त्रणमा ।

धादिङ – पृथ्वी राजमार्ग हुँदै अवैध रूपमा भारततर्फ निकासी हुँदै गरेका एक ट्रक गाईगोरु प्रहरी र भेटेरिनरी अस्पताल धादिङले नियन्त्रणमा लिएको छ । कानुनविपरीत राजमार्गबाट दैनिकजसो गाईगोरु भारततर्फ लग्ने गरेको जनगुनासो आउन थालेपछि प्रहरीले अनुगमनका क्रममा नियन्त्रणमा लिएको हो ।

राजमार्ग क्षेत्रका गाउँगाउँबाट कानुनविपरीत कुनै पनि कागजपत्रबिना गाईगोरुको अवैध ओसारपसार भइरहेको छ । यस्तो जनगुनासोपछि प्रहरीले कडाइका साथ चेकजाँच सुरु गरेको हो । धादिङको थाक्रे गाउँपालिकाबाट मकवानपुर लैजाने भन्दै ट्रकमा राखी लैजाँदै गरिएका ११ गाई र एउटा गोरुसहित ना६ख ७१३९ नम्बरको ट्रक नियन्त्रणमा लिइएको भेटेरिनरी अस्पताल धादिङका पशुचिकित्सक विनोद यादवले जानकारी दिए ।

नियन्त्रणमा लिइएका गाईगोरुको क्वारेन्टाइन (गाईगोरुको स्वास्थ्य ठीक छ या छैन भन्ने परीक्षण) पनि नभएको तथा किन र के प्रयोजनले ढुवानी भइरहेको भन्ने विषयमा कुनै पनि कागजात नभेटिएपछि प्रहरीले गाईगोरु र ट्रक भेटेरिनरी अस्पताल धादिङको जिम्मा लगाएको छ । धादिङमा पशु क्वारेन्टाइन कार्यालय नभएको र भेटेरिनरी अस्पतालले कुनै पनि कारबाही गर्न नमिलेपछि आवश्यक कारबाही र अनुसन्धानका लागि चितवनको रामनगरस्थित पशु क्वारेन्टाइनलाई बुझाइएको चिकित्सक यादवले जानकारी दिए ।

प्रकाशित: २० वैशाख २०७६ ०२:३३ शुक्रबार

पृथ्वी_राजमार्ग गाईगोरु राजमार्ग