समाज

प्रधानमन्त्रीबाट नमुना स्मार्ट विद्यालयको थालनी

फाइल फाेटाे

काठमाडाैं–प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिमा आधारित शिक्षणका लागि ‘नमूना स्मार्ट विद्यालय’ को आज शुभारम्भ गरेका छन्।

‘डिजिटल नेपालः विकास र समृद्धिको आधार’ भन्ने नाराका साथ सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आयोजना गरेको दोस्रो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा प्रधानमन्त्री ओलीले सो स्मार्ट विद्यालय कार्यक्रमको थालनी गरेका हुन। गण्डकी प्रदेशको कास्कीको विश्व शान्ति माध्यमिक विद्यालय यस कार्यक्रमको पहिलो सूचना प्रविधिमैत्री विद्यालय हुन पुगेको छ।

काठमाडौँको कमलपोखरीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले रिमोट क्लिक गरी गरेकाे सो उद्घाटन अनलाइन प्रविधिको माध्यमबाट उक्त विद्यालयमा प्रत्यक्ष प्रसारण गरिएको थियो। सरकारले हरेक प्रदेशको कम्तीमा एक सामुदायिक विद्यालयमा सो कार्यक्रम लागू गर्ने लक्ष्य लिएको छ। सोही कार्यक्रममा डिजिटल फाइनान्स कम्पनी स्थापनाका लागि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकबीच सहमतिपत्रमा हस्तक्षर भयो।

लिमिटेडका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र बैंकका कार्यकारी प्रमुख कविराज अधिकारीले सहमतिपत्रमा हस्ताक्षर गरे। यसैगरी सूचना प्रविधि छात्रवृत्तिका लागि कम्प्युटर एसोशिएसन (क्यान) महासङ्घका अध्यक्ष हेमन्त चौरसिया र लर्ड बुद्ध एकेडेमीका अध्यक्ष पङ्कज जलानबीच सहमति भयो। सोअन्तर्गत डेढ करोड रुपैयाँको लागतमा ४९ विद्यार्थीलाई छात्रवृत्ति दिइनेछ। रासस

प्रकाशित: १९ वैशाख २०७६ १०:५५ बिहीबार

प्रधानमन्त्री केपी_शर्मा_ओली सूचना_तथा_सञ्चार_प्रविधि_मन्त्रालय सामुदायिक_विद्यालय